महेन्द्रनगरमा १० बिघा अतिक्रमित जग्गा खाली गर्न डोजर चल्यो
2024/05/19, 1:43
 
dd

कञ्चनपुरको महेन्द्रनगरमा १० बिघा अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइएको छ। भीमदत्त नगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा अतिक्रमण गरि निर्माण गरिएको भौतिक संरचनाहरू खाली गर्न डोजर चलाइएको हो।

भीमदत्त नगरपालिकाको बसपार्क क्षेत्रमा अतिक्रमणमा परेको १० बिघा जमिन खाली गर्न शनिवारदेखि डोजर प्रयोग गरिएको नगरपालिकाले बताएको छ। तत्कालीन महेन्द्रनगर नगर विकास समितिमा विभिन्न समयमा बनेका अध्यक्षहरुले बसपार्क क्षेत्रको जग्गा अवैध रूपमा भाडामा वितरण गरेका थिए।

नगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउन पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेपछि शनिवारदेखि डोजर चलाउन थालिएको हो। भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीका अनुसार उक्त क्षेत्रमा तीन सय ७३ वटा भौतिक संरचनाहरू निर्माण गरिएका छन्। दुई सय ५५ वटा संरचना पक्की पिल्लरसहित निर्माण गरिएका छन्।

पहिलो चरणमा लालपुर्जा खारेज भएका एक सय ९० बटा र २३ वटा गरेर दुई सय १३ वटा लालपुर्जामा बनेका संरचनाहरू खाली गरिने लागेको हो। आइतवार पनि उक्त क्षेत्रमा डोजर चलेको नगरपालिकाले बताएको छ। भीमदत्त नगरपालिकाले घर(टहरा भने एक सातापछि मात्रै भत्काइने बताएको छ। नगरपालिकाका अनुसार सार्वजनिक जग्गामा घर(टहरा बनाएका व्यक्तिहरूलाई अन्तिम पटक सूचना जारी गर्ने तयारी भएको छ।

विशेष अदालतले महेन्द्रनगर नगर विकास समितिको जग्गा बिक्री प्रकरणमा तत्कालीन अध्यक्ष र कर्मचारीसहित आठ जनालाई दोषी ठहर गर्दै कैद र जरिबाना सजाय तोकेको थियो। अदालतले विभिन्न समयमा बिक्री भएको जमिन नगर विकासका नाममा फिर्ता गर्न समेत आदेश गरेको छ। नगर विकासको जग्गा भाडामा लिएर संरचना बनाएका व्यवसायीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट पनि अदालतले खारेज गरिदिएको छ।