सुदूरपश्चिम सरकार विस्तारमा एमाले र माओवादीको अड्को
2024/05/20, 5:59
 
ss

सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको प्रयास सफल हुन सकेको छैन । विश्वासको मत लिए लगत्तै सरकारलाई पूर्णता दिने मुख्यमन्त्री दीर्घबहादुर सोडारीको प्रयास सफल हुन नसकेको हो । सत्तारुढ दुई ठुला दल नेकपा एमाले र माओवादी केन्द्रको अलमलका कारण हालसम्म सरकारले पूर्णता पाउन नसकेको हो । मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिएका छन् । त्यसअघि विश्वासको मत दिने सवालमा एमाले लामो समय अनिर्णित थियो । अझै पनि सरकारमा जान एमाले अनिर्णित बन्दा सरकारको काम कारबाहीमा समस्या उत्पन्न भएको हो ।

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले केन्द्रमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि मात्रै प्रदेश सरकारले पूर्णता पाउने बताए । उपनेता रावलले भने, ‘एमाले र माओवादीको ठोस निर्णय आउन बाँकी छ । उहाँहरूको केन्द्रबाट निर्णय आइसकेपछि होला । सरकार विस्तारमा धेरै ढिला भएको हामीलाई पनि लागेको छ । छिटोछरिटो होस् भन्ने हाम्रो पनि चाहना हो । केन्द्र सरकारमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि मात्रै प्रदेश सरकारले पूर्णता पाउने देखिन्छ ।’ एमाले सुदूरपश्चिम संसदीय दलकी उपनेता सन्तोष कुमारी शर्माले पनि सरकारले पूर्णता दिनेबारे अझै छलफल नभएको बताइन् । नीति तथा कार्यक्रम र बजेट निर्माणको बेला भएकोले आफूहरूले छिटै पूर्णता दिन खोजेको तर केन्द्रको निर्देशनमा ढिलाइ भइरहेको उनको भनाइ छ । माओवादीको सुदूरपश्चिम संसदीय दलका उपनेता अक्कल रावलले पनि केन्द्रके निर्देशन पर्खिरहेको सुनाए ।

भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी

यसैबिच भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी समेत गरिएको छ । यहाँको तीन वटा मन्त्रालय फुटाउने गरी छलफल चले पनि तत्काल भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाइने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउन सुझाव भए पनि तत्काल भौतिक पूर्वाधार विकास मन्त्रालयमात्रै फुटाउने गरी सत्ता गठबन्धनमा एक चरणको सहमति बनेको छ । समाजवादीका उपनेता रावलले भने, ‘कसको कति माग हो, त्यो आएपछि टुङ्गो लाग्छ । पहिलो चरणमा एउटा मन्त्रालयसम्म फुटाउने एक चरणको छलफल बढेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने तयारी हो ।’

प्रदेश सरकारको बजेटको दृष्टिकोणले पनि आधाभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहने भएकाले सो मन्त्रालय फुटाउने सहमति बढेको हो । सो मन्त्रालय फुटाएर ५ मन्त्री नियुक्त हुनेछन् । एमाले, माओवादी र स्वतन्त्र सांसद डा। तारा जोशीलाई मन्त्री बनाइने तयारी छ । यसअघि मुख्यमन्त्री सोडारीले नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् । तर हालसम्म सरकार जाने ठोस निर्णय गर्न नसकेको माओवादी र एमालेभित्र मन्त्री बन्नेहरुको दौडधुप बढेको छ ।

नेकपा एमालेले अर्थमन्त्री र आन्तरिक मामिला मन्त्रालय दाबी गरेको छ । माओवादी केन्द्रले भने यसअघि नै एक पटक सम्हालिसकेको सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ । मुख्यमन्त्री सोडारी मन्त्रालयहरू फुटाएर भए पनि आफ्नो नेतृत्वलाई सुरक्षित गर्न चाहन्छन् । यहाँसम्मकि, मुख्यमन्त्री सोडारीले उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई जिम्मेवारी दिइएको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने गृहकार्यमा छन् । तर यसबारे मन्त्री चौधरीले आफूसँग छलफल नभएको प्रतिक्रिया दिएका छन् ।

नेकपा एमालेका तर्फबाट बैतडीका सुरेन्द्र पाल, कञ्चनपुरका बीर बहादुर थापा र डोटीका चक्र मल्ल मन्त्री हुने दौडधुपमा छन् । माओवादी केन्द्रका तर्फबाट मन्त्री हुनेको सूचीमा झपट साउद र रमेश धामी छन् । अक्कल रावल, ओम विक्रम भाट, शिवसिंह ओली र लक्ष्मी विक पनि मन्त्री बन्न आकांक्षी छन् । यसअघि राज्यमन्त्री हुँदा पनि जिम्मेवारी नपाएको भन्दै असन्तुष्ट देखिएकी गीतादेवी माल पनि मन्त्री बन्ने दौडमा छिन् ।