कैलारी गाउँपालिकाले नाफामुलक संस्थालाई दियो सुटुक्क साढे तीन लाख
2024/06/14, 5:52
 
ss

कैलालीको कैलारी गाउँपालिकाले नाफामुलक संस्थालाई सुटुक्क तीन लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको खुलेको छ।

गाउँपालिकाले ऐन विपरीत दुईवटा नाफामुलुक संस्थालाई तीन लाख ५० हजार रुपैयाँ अनुदानको रुपमा उपलब्ध गराएको हो। जबकी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७६ मा वितरणमुखि खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार निर्माण हुने कार्यमा खर्च गर्नेपर्ने उल्लेख छ।

तर कैलारी गाउँपालिकाले भने सो कार्यविपरीत दुईवटा नाफामुलुक संस्थालाई अनुदान वितरण गरेको छ। मापदण्ड र आवश्यक कार्यविधि नबनाएर गाउँपालिकाले आफुअनुकुल बजेट खर्च गर्दै आएको छ। गाउँपालिकाले गत वर्षको बैशाख १५ गते बर्का बनवुा दूना टपरी तथा हस्तकला उद्योगलाई दुई लाख र बसन्त ऋतु सहकारी संस्था लिमिटेडलाई एक लाख ५० हजार रुपैयाँ अनुदान वाफत रकम उपलब्ध गराएको छ।

जुन ऐन विपरीत वितरण गरिएको रकम हो। त्यस्तै मापदण्ड विपरीत शुभकामना सन्देशको नाममा पनि सो गाउँपालिकाले एक लाख ४२ हजार पाँच सय रुपैयाँ भुक्तानी गरेको छ। यसका साथै गाउँपालिकाले ६० हजार रुपैयाँ दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। गाउँपालिकाले स्पेसिफिकेशनबिना ६ लाख ५० हजार मुल्यका विज्ञान प्रयोगशाला खरिद गरेको समेत खुलेको छ।