जिसस कैलालीको प्रमुख पदका लागि कांग्रेस र नाउपाको उमेदवारी
2024/11/17, 5:49
 
ss

जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि कैलालीका दुई जनाको उमेदवारी परेको छ। नेपाली कांग्रेसबाट टीकाकुमारी चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुपमती डँगौरा थारुको उमेदवारी परेको हो।

नेपाली कांग्रेसबाट जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएका पदम बहादुर कलेलको २०७९ सालको पुस २३ गते निधन भएपछि सो पदमा उप निर्वाचन हुन लागेको हो। सत्ता गठबन्धनमा रहेको काँग्रेस र एमालेले चुनावमा तालमेल गरेका छन्। एमालेले काँग्रेसकी भुललाई मतदान गर्ने भएको छ। भुल कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन्। 

भुलको समर्थकमा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी रहेका छन् भने उनको समर्थकमा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रहेकी छन्। 

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट पनि रुपमती डँगौरा थारुले मनोनयन दर्ता गराएकी छन्। उनको प्रस्तावकमा रेखादेबी कठरिया रहेकी छन् भने समर्थकमा राजु तिरुवा रहेका छन्। कठरिया टीकापुर नगरपालिका वडा नम्बर ४ बाट महिला वडा सदस्यमा विजयी हुन्।

१३ वटा स्थानीय तह रहेको जिल्ला समन्वय समितिमा २६ मत भार हो। अहिले एमाले र काँग्रेस गठबन्धनसँग १३ मतभार छ। नाउपासँग ७, नेकपा माओवादीसँग ३ (टीकापुरको उपमेयर निलम्बित), समाजवादी १ र स्वतन्त्र १ मतभार रहेको छ। 

नाउपालाई माओवादी र समाजवादीले मतदान गरेपनि उसको ११ मत मात्रै पुगिरहेको छ। काँग्रेस ८ र एमाले ५ मतभारका साथमा १३ मतभार ल्याएर विजयी हुने देखिन्छ। आइतबार दिनभरी काँग्रेस र एमालेले नाउपालाई समर्थनका लागि अग्रह गरेपनि उसले नमानेपछि मनोनयन दर्ता गरिएको हो।