गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए ।
बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए ।
उनले भने,‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ । तर, अहिलेसम्म त्यस्तो छलफल भएको छैन ।’ उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ वर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख गरे ।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबीच खटपट भएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताए ।
‘एमाले र कांग्रेसबिच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौ, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ,’ उनले भने ।
नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेको उल्लेख गरे ।
उनले भने,‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ ।’ सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको बताए । उनले अब नयाँ कार्य योजनासहित शान्ति सुरक्षा कायम हुने बताए ।