विश्वमै दुर्लभ सारस कञ्चनपुरको नकैया सिमसार क्षेत्रमा देखापरेका छन् । बेलौरी नगरपालिकामा रहेको सो सिमसार क्षेत्रमा तीनवटा सारस देखा परेका हुन् । सारस सिमसारको सूचक प्रजाति मानिन्छन् । नकैया सिमसार क्षेत्रमा साना कुलोका साथै, साना घोलसहितको दलदल छ । सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्दछ ।
कञ्चनपुरको रतनपुर सिमसार र बेल्डाँडी क्षेत्रमा हरेक वर्षजसो दुर्लभ सारस देखिने गरेका छन् । यसैगरी शुक्लाफाँटा निकुञ्ज क्षेत्रबाहिर रहेको पुरैनी तालमा पनि सारस आउने गर्दछन् । पुरैनी तालमा सबैभन्दा पहिले २०१७ मा दुई वटा सारस अभिलेख गरिएको थियो । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको सिमसारमा प्रायः सारस देखिने गरेको चराविद् हिरुलाल डङ्गौराले बताए । “नकैया सिमसारमा सारसले प्रजनन् गर्ने र बच्चा कोरल्ने गरेको यहाँको स्थानीयको भनाइ छ” उनले भने, “तर, हाम्रो अध्ययन, अनुसन्धानको क्रममा अहिलेसम्म त्यस्तो पाइएको छैन ।”
सारसले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै कृषि बालीका लागि हानिकारक शङ्खेलगायतका अन्य प्रजातिका किरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका छन् । यसैगरी बाघ, चितुवाजस्ता हिंस्रक जनावरनजिक आउन लागेमा पनि सारसले कराएर जानकारी दिने र आक्रमण हुनबाट जोगाउने गर्दछन् ।
खेतीपातीमा किटनाशक विषादीको प्रयोग, जल क्षेत्रको अत्यधिक र अव्यवस्थित उपयोगले सिमसार मासिदैं गएको छ । सिमसारमा परेको असरले सारस चरालाई असर परिरहेको छ । वासस्थानको रुपमा रहेको सिमसार क्षेत्र तीव्र रुपमा मासिँदै जानु नै सारसका लागि प्रमुख चुनौती बन्दै गएको छ ।
नेपालमा चार प्रजातिका सारस पाइन्छन् । जसमध्ये कालो टाउके र सारस विश्वमै दुर्लभ प्रजाति हुन । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९आइयुसीएन० को रातो सूचीमा रहेको संवेदनशील प्रजाति सारस नेपालको पश्चिम तराईको लुम्बिनी क्षेत्रमा वर्षभरि पाइने गर्दछन् । तर, कालो टाउके सारस भने आक्कलझुक्कल देखिने गरेको बताइन्छ ।
लक्ष्मण र कर्याङ्कुरुङ सारस भने हिउँदे आगन्तुक तथा बटुवा चरा हुन् । उत्तरी ध्रुवमा हिमपात भएपछि अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा यो दुई प्रजातिका सारस चरा बर्सेनि नेपाल हुँदै भारत र श्रीलङ्कातर्फ जाने गरेको डङ्गौराको भनाइ छ ।