डोटीको बुडर र कैलालीको मत्स्य गाउँका जात्रामा प्रहरीकै संरक्षणमा 'जुवामेला'
2024/11/23, 10:03
 
ss

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा हिजोआज धार्मीक मेला–जात्राको रौनक छ । ती जात्राले आ–आफ्नै धार्मिक, ऐतिहासिक र सामाजिक महत्व बोकेका छन् । तर डोटीको बुडर नजिक कल्तडा र कैलालीको सहजपुर नजिक मत्स्य गाउँमा लाग्ने यस्ता दुई जात्रा छन्, जुन जुवातासले प्रख्यात छन् । 

ती जात्रामा प्रहरीकै ‘सेटिङ’मा खुलेआम जुवातास खेल्ने र खेलाउने गरिन्छ । बिहीबार राति १० बजे डोटी जोरायल गाउँपालिका–२, बुडर बजार नजिक पर्ने कल्तडा पुग्दा मेला भर्न आएकाको संख्या सयौँ थियो । मेलामा धार्मिक पूजाआजा हुने परम्परा रहे पनि मेलाको आकर्षण भने दर्जनौँको संख्यामा खुलेआम चलिरहेका जुवातासका खाल थिए ।  

मेलास्थलमा त्रिपालको छानोमुनि करिब सयवटा स्टल राखिएका थिए । त्यसमध्ये व्यवसायिक स्टलको संख्या मुस्किलले ५० थियो । बाँकी सबै स्टलमा खुलेआम जुवातास चलिरहेको थियो । एउटा खालमा २० जनाभन्दा बढी जुवा खेलिरहँदा वरिपरी दर्शक झुम्मिएका थिए । त्यहाँ जुवाको ‘काटी’ खेल चलिरहेको थियो । एक जनाले १० हजार रुपैयाँसम्मको दाउ लगाइरहेका थिए ।

सर्वसाधारणमात्र होइन, सादा पोसाकमा प्रहरी पनि जुवाखालमा थिए । उनीहरु पनि जुवा खेलिरहेका थिए । मेलामा शान्तिसुरक्षाका लागि खटिएका प्रहरी खटिएका थिए । तर लाग्थ्यो उनीहरु जुवा खालको सुरक्षामा खटिएका हुन् । सादा पोसाकका केही प्रहरी जुवा खालबाट रकम असुलिमा व्यस्त थिए । 

‘मेला आज राति लागे पनि यहाँ जुवातास हुन थालेको दुई दिनअघिदेखि नै हो,’ त्यहाँ भेटिएका एक स्थानीयले भने, ‘खुलेआम जुवातास भइरहेको छ । सादा पोसाकका प्रहरी जुवा खेलिरहेका छन् । सुरक्षाका लागि खटिएका प्रहरी पनि जुवा हेर्न व्यस्त छन् ।’ जोरायल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बीरबहादुर दर्लामी कल्तडा मेलामा बर्सेनि जुवातास हुने गरेको स्विकार्छन् । ‘यस वर्ष हामीले जुवातास रोक्न खोजेका थियौँ,’ वडाध्यक्ष दर्लामीले भने, ‘तर स्थानीय बासिन्दाबाट विरोध भयो । वडा कार्यालयनै घेर्ने कुरा गर्न थाले । हामीले रोक्न नसकेपछि यस वर्ष पनि जुवा भएको हो ।’

उनका अनुसार कल्तडा मेलामा जुवा खेल्ने विषय परम्पराजस्तै बनेको छ । ‘सबै देवीदेउताको मेला भएपछि कल्तडामा मसानीको पूजा गर्नका लागि मेला लाग्ने गर्छ,’ उनले भने, ‘मसानीको पूजा गर्दा जे पनि हुनसक्छ भनेर जुवा खेल्ने चलन छ ।’ मेलामा खुलेआम जुवा हुने हुँदा प्रहरी प्रशासनले पनि रोक्न नसकेको उनले बताए । ‘अप्रिय घटना घट्न नदिनका लागि भने हामी सजक थियौं,’ उनले भने । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले कल्तडा मेलामा जुवातास भएको विषयमा जानकारी नभएको बताए । ‘मेलाका लागि सुरक्षा चाहियो भन्दै माग भएपछि ३५ जना प्रहरीको टोली पठाएको थिएँ,’ उनले भने, ‘त्यहाँ जुवा भइरहेको विषयमा जानकारी भएन ।’   स्थानीयबासिन्दा भने मेलामा जुवातास खेल्न दिएबापत असुलि गरिने रकम जिल्लादेखि प्रदेशका प्रहरी अधिकारीसम्म रकम पुग्ने दावी गर्छन् । ‘यो मेलामा यस वर्षमात्रै नभएर प्रत्येक वर्ष जुवातास हुने गर्छ,’ बुडरका एक व्यवसायीले भने, ‘खुलेआम जुवातास भइरहँदा प्रहरीले जानकारी पाउँदैन भन्दा विश्वास लाग्दैन । घरमा सामान्य जुवा खेल्दा पक्राउ गर्ने प्रहरी यहाँ लाखौँका जुवा हुँदा मुकदर्शक बन्छ ।’

कैलालीको सहजपुर नजिक पर्ने मत्स्य गाउँमा लाग्ने मेला पनि कल्तडाजस्तै जुवातासले प्रख्यात छ । मत्स्य गाउँ डोटी र कैलाली छुट्याउने ठुलीगाड किनारमा पर्छ । मत्स्य मेलामा पनि प्रहरीकै मिलोमतोमा जुवातास हुने गरेको स्थानीय बताउँछन् । कल्तडा र मत्स्य मेला एकै दिन लाग्ने गर्छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी रविन्द्र केसीले मेलामा जुवातास भएकोबारे आफूलाई जानकारी नभएको बताए । ‘प्रहरीको मिलोमतोमा जुवा खेलाइएको हो वा होइनबारे छानविन गर्छौं’ उनले भने ।