'म्याट्रिमोनी डटकम'ले विवाह कर्जा दिने
2024/11/23, 3:11
 
aa

जीवन साथी खोजिदिने भारतीय अनलाइन सेवा प्रदायक ुम्याट्रिमोनी डटकमुले विवाहका लागि कर्जा दिने वित्तीय प्रविधि प्लाटफर्म सञ्चालनमा ल्याएको छ । हालै आयोजित कार्यक्रममा कम्पनीले विवाह कर्जा प्रदान गर्नलाई ‘वेडिङ लोन्स डटकम’ सुरु गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विवाहका लागि वित्तीय सहायता उपलब्ध गराउन म्याट्रिमोनीले आईडीएफसी, टाटा क्यापिटल, लार्सन एन्ड ट्युब्रो फाइनान्सजस्ता भारतका अग्रणी वित्तीय संस्थासँग सहकार्य गरेको छ । ‘कर्जा दिनेबाहेक हाम्रो प्लाटफर्मले ग्राहकहरूलाई विवाहसम्बन्धी वित्तीय व्यवस्थापनमा सही निर्णय लिन सहयोग गर्नेछ,’ म्याट्रिमोनीले विज्ञप्तीमा भनेको छ, ‘ग्राहकहरूको हितलाई पूर्ण रूपमा सुरक्षित गर्न हाम्रो पारदर्शी प्रक्रियाले मद्दत गर्नेछ ।’

सुखद दाम्पत्यको प्रवेशमार्गका रूपमा म्याट्रिमोनी डटकमले विगत दुई दशकदेखि सेवा दिइरहेको कम्पनीको दाबी छ । उपयुक्त जीवनसाथीको खोजीका लागि लाखौंले म्याट्रिमोनी एप र वेबसाइट प्रयोग गर्ने गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मुरुगभेल जनकिरामनले इकोनमिक टाइम्ससँग भनेका छन् । ‘वेडिङ लोन्स डटकममार्फत अब हामी हाम्रो सेवा विस्तार गर्दै विवाहको तयारी, बजेटिङ र प्रक्रियालाई थप सरल बनाउन खोज्दै छौं,’ उनको भनाइ छ ।

वेडिङ लोन्सको वेबसाइटमा भनिएअनुसार भारतमा पछिल्लो समय थुप्रै जोडीहरूले आफ्नो विवाहका लागि व्यक्तीगत कर्जा सुविधा लिने गरेका छन् । विगत एक दशकयता विवाहको खर्च निरन्तर बढिरहेको छ र सामाजिक सञ्जालहरूले विवाह समारोहलाई थप भव्य र लम्ब्याइरहेको हुँदा खर्च बढेको वेडिङ लोन्स डटकमको ठम्याइ छ । वेबसाइटमा भनिएअनुसार व्यक्तीको क्रेडिट हिस्ट्री र वित्तीय अवस्था हेरेर ऋणदाता संस्थाले ३ देखि ५ वर्षभित्रमा तिरिसक्नुपर्ने गरी ५० हजार डलर ९करिब साँढे ६७ लाख रुपैयाँ० सम्म कर्जा दिन सक्छन् ।

भारतमा विभिन्न बैंक तथा वित्तीय संस्थाले विवाह कर्जा दिने गरेका छन् । एचडीएफसी बैंकको पर्सनल लोन प्रोडक्ट सुविधाअन्तर्गत ५० हजारदेखि ४० लाख भारतीय रुपैयाँ विवाह कर्जा पाइने बैंकको वेबसाइटमा उल्लेख छ । यो कर्जा बैंकले १२ देखि ६० महिनाका लागि दिने गरेको छ । मासिक पारिश्रमिकका आधारमा कर्जा दिने भएकाले यसका लागि धितो आवश्यक नपर्ने भनिएको छ ।

त्यस्तै, बजाज सहकारीले पनि २० हजारदेखि ४० लाख भारु विवाह कर्जा दिने गरेको छ । आईसीआईसीआई बैंकले १०.८५ प्रतिशत वार्षिक ब्याजमा ५० हजारदेखि ५० लाख भारुसम्म विवाह कर्जा दिने बैंकको वेबसाइटमा उल्लेख छ ।