नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सलाई सूर्य प्लाइले ‘स्ट्रेन्थ पार्टनर’को रूपमा साथ दिने भएको छ । सूर्य प्लाईकोतर्फबाट सवारागी प्लाईउड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र सुदूरपश्चिम प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरे ।
राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। यसैगरी टोलीले अस्ट्रेलियाका ब्राड हजलाई मेन्टरका रूपमा नियुक्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।