नेपाल प्रिमियर लिगका लागि न्युजिल्यान्डका स्कट कुग्गेलिजन र सैफ अली जैब नेपाल आइपुगेका छन् ।
उनीहरुलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ । बुधबार राति आइपुगेका कुग्गेलिजन र जैबलाई टोलीका व्यवस्थापक रवि तिमल्सिनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
कुग्गेलिजनले १६२ ट्वान्टी-२० मा १६८ विकेट लिनुका साथै १ हजार २२ रन बनाएका छन् । यस्तै उनले १८ ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १६ विकेट लिनुका साथै ७९ रन प्रहार गरेका छन् । यसैगरी जैबले ७४ ट्वान्टी-२० मा सात अर्धशतकसहित १ हजार २६६ रन बनाएका छन् । उनलको नाममा १२ विकेट पनि छ ।
राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। यसैगरी टोलीले अस्ट्रेलियाका ब्राड हजलाई मेन्टरका रूपमा नियुक्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।