जनकपुरविरुद्ध विराटनगर अलआउट, गप्टिलबाहेक अन्य खेलाडी चलेनन्
2024/11/30, 2:08
 
gaptil

पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको उद्घाटन खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगर १८।६ ओभरमा १२७ रन बनाउँदै अलआउट भएको हो । विराटनगरका लागि न्यूजिल्यान्डका पूर्वओपनिङ ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गरे । ४३ बल खेलेका उनले ७ चौका र एक छक्काको मदतमा ५५ रन जोडे । एनपिएलमा अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन् ।

गप्टिल टी–२० फम्यार्टमा खतरनाक मानिन्छन्। सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका उनी टी–२० आईमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौं नम्बरमा छन्। विराटनगरको ब्याटिङ धेरै हदसम्म गप्टिलमा निर्भर रहेको आजबाटै पुष्टि भएको छ । तर, खेलको १४।१ ओभरमा हर्ष ठाकरले उनलाई आउट गरेका हुन् । ठूलो सट खेल्ने धुनमा उनी जनकपुरका कप्तान अनिल शाहबाट क्याच आउट भएका हुन् ।

यसैगरी अर्का ओमानका अकिब इल्यासले १५रन जोड्नुबाहेक अन्यले दोहोरो रन छुन सकेनन् । मध्यक्रम कमजोर बन्यो । क्यानडाका निकोलस किर्तोनले १३ बलमा ९ रन, बसिर अहमदले ९ बलमा ७ रन, राजेश पुलामीले ६ बलमा एक रन मात्रै जोड्न सके । सन्दीप लामिछानेले एक छक्काको मदतमा ७ रन जोडे । आजको खेलमा त्यति चौका र छक्काको वर्षा हुन सकेन। खेल अवधिभर २ छक्का प्रहार हुँदा ११ बल मात्रै चौकाका रुपमा ब्राउण्ड्री कटे ।

बलिङतर्फ जनकपुर बोल्ट्सका ललित राजवंशीले ४ ओभरमा २७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यसैगरी किशोर महतो र हर्ष ठाकरले समान २२ विकेट लिए । बेन माइक र मोहम्मद मोहसिनको हातमा एकएक विकेट रह्यो ।