सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका पाँच स्थानको उपनिर्वाचनमा अहिले उत्साहपूर्वक मतदान भइरहेको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार आज बिहान ७ बजे सबै ठाउँमा मतदान कार्य सुरु भएको हो । एक उपाध्यक्ष र चार वडाध्यक्षका लागि मतदान अघि बढिरहेको छ ।
यहाँ उपनिर्वाचनका लागि १८ वटा मतदान केन्द्र तोकिएको छ । उपाध्यक्ष पदको लागि उपनिर्वाचन भएको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ७ हजार ६० मतदाता छन् । सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना महिला उम्मेदवार छन् । यहाँ नेपाली काङ्ग्रेसबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही र एमालेबाट सुलोचनाकुमारी भण्डारी उम्मेदवार छन्।
यस्तै बझाङको सुर्मा गाउँपालिका ४ मा वडा अध्यक्ष पदका लागि सुर्मा माध्यमिक विद्यालयमा मतदान भइरहेको छ । सुर्मा गाउँपालिका वडा नम्बर ४ मा अहिलेसम्म २७६ जनाले मतदान गरेका छन् । बिहान ७ देखि ९ बजेसम्म २७६ मत खसेको हो ।
सुर्मा माध्यमिक विद्यालयमा भइरहेको मतदानमा ‘क’ र ‘ख’ गरी २ मतदानस्थल रहेका छन् । सुर्मा ४ मा कुल १ हजार ५५४ मतदाता रहेका छन् । यहाँ एमालेबाट लखीचन्द्र बोहरा, काङ्ग्रेसबाट धीरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुष्करबहादुर बोहरा गरी तीन जना उम्मेदवार छन् ।
यस्तै डोटीको पूर्वीचौकी गाउँपालिका ६ मा पनि वडाध्यक्षको लागि मतदान भइरहेको छ । यहाँ एमालेबाट देवबहादुर थापा, काङ्ग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकीकुमारी खड्का उम्मेदवार छन् ।
दार्चुलाको दुहुँ गाउँपालिका ५ मा शान्तिपूर्ण ढंगले मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ । यहाँ एमालेबाट मानसिंह बडाल, काङ्ग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा पनि उत्साहपूर्वक मतदान जारी छ । यहाँ सबैभन्दा बढी १२ जना उम्मेदवार छन् । एमालेबाट बहादुर चन्द, काङ्ग्रेसबाट प्रकाश चन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट सुशीलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जीतेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिश डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी र स्वतन्त्रबाट युवराज चन्द तथा थानेश्वर लेखक उम्मेदवार छन् ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले सबै ठाउँमा शान्तिपूर्ण ढंगले मतदान जारी रहेको बताए । जिल्ला समन्वय समिति कैलाली प्रमुखमा दुई जनाको उम्मेदवारी परेको र एक जनाले फिर्ता लिइसकेपछि यहाँ भने मतदान भएन ।