लाहिरु मिलन्थाको उत्कृष्ट प्रदर्शन प्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो ।
विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा विकेट दुई विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका लागि मिलन्थाले ५३ बलमा ९ चौका र ३ छक्काको मद्दतले अविजित ७५ रन बनाए । यसैगरी हर्ष थाकर २९ रनमा अविजित रहे ।
तेस्रो विकेटका लागि मिलन्था र थाकरले अविजित ११६ रनको साझेदारी गरे । विराटनगरका लागि प्रतिस जिसी र क्रिस सोलले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो ।
विराटनगरका लागि गुप्टिलले ४३ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी अकिब इलियासले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, किशोर महतो र हर्ष थाकरले समान दुई तथा बेन माइक र मोहम्मद मोहसिनले समान एक विकेट लिए ।