कैलालीको घोडाघोडी नगरपालिका–४, गणेशपुरका रामबहादुर चौधरीले यतिखेर हप्तामा तीन दिन हाटबजारमा आफ्नो उत्पादन बेचेर राम्रो आम्दानी गर्दै आएका छन् ।
पाँच वर्षपहिलासम्म सामान्य निर्वाहमुखी खेतीपाती गर्दै आएका चौधरीले व्यावसायिक तरकारी खेती गर्न थालेपछि थोरै जमिनबाट धेरै आम्दानी लिन थाल्नुभएको हो । उनले पाँच कट्ठामा लगाएको हरियो खुर्सानीको आम्दानी लिइरहेका छन् ।
हरियो खुर्सानीबाट मात्र वार्षिक छ लाख रुपियाँ आम्दानी गरिरहनुभएको छ । चौधरीले तीन र चार थरीका खुर्सानी हाटबजारमा बेच्न राख्नुहुन्छ । बढी पिरो, कम पिरो र स्वादको मात्र गरी विभिन्न थरीका खुर्सानी ग्राहकले आफ्नो स्वाद अनुसार लैजाने गरेको उनको भनाई छ । हप्तामा गौरीगङ्गा नगरपालिकाको मसुरिया, सुखड र बर्दगोरिया गाउँपालिकाको बौनियामा लाग्ने हाटबजारमा खुर्सानी बेच्ने गरेको चौधरीले बताए ।
बर्सातको समयमा खुर्सानीले राम्रै मूल्य पाएको बताउँदै उनले दुई सयदेखि २५० रुपियाँसम्म प्रतिकिलोका दरले बेचेको बताउनुभयो । एक सिजनमा १५ क्विन्टलसम्म हरियो खुर्सानी फलाएर बेच्ने गरेको चौधरीको भनाइ थियो ।
खुर्सानीसँगै उहाँको बारीमा टमाटर, फूलगोभी पनि बेच्नका लागि तयार हुँदै छ । चौधरीले व्यावसायिक तरकारी खेती गरेपछि उहाँको घरखर्च चलाउन र छोराछोरी पढाउन सहज भएको बताए ।