कैलाली र कञ्चनपुरमा आठवटा सडक दुर्घटना, १२ जना घाइते
2024/12/06, 5:39
 
ss

कैलाली र कञ्चनपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा १२ जना घाइते भएका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ एनसेल चोकस्थित आइबीआरडीबाट बजारतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा ४८ वर्षीय एक पुरुष घाइते भएका छन्। घाइते ती पुरुषको बीएन पोलिक्लिनिकमा उपचार भइरहेको छ। बेलौरी नगरपालिका–४ मा पनि मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा १७ वर्षीय एक किशोर घाइते भएका छन्।

घाइते किशोरलाई उपचारका लागि धनगढी ल्याएको छ। कैलालीको चुरे गाउँपालिका–१ पखिरमा ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय एक किशोर घाइते भएका छन्। घाइते किशोरीको केजी अस्पताल धनगढीमा उपचार भइरहेको छ। यस्तै धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँस्थित राजपुरमा तारानगर जाँदै गरेको अटोबाट खसेर ५६ वर्षीय एक जना घाइते भएका छन्। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

उता टीकापुर नगरपालिका–६ नारायणपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३० वर्षीया एक महिला घाइते भएकी छन्। उनको वेस्टर्न हस्पिटल नेपालगन्जमा उपचार भइरहेको छ। धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा मोटरसाइकलले गाईलाई ठक्कर दिँदा २२, ४१ र ५१ वर्षीय तीन जना घाइते भएका छन्। घाइते तीनै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।

गौरीगंगा नगरपालिका–१ चौमालामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा ३० वर्षीय एक जना घाइते भएका छन्। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। यस्तै धनगढी उपमहानगरपालिका–७ स्थित पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा २५, २८ र ३२ वर्षीय गरी तीन जना घाइते भएको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले पठाएको विवरणमा उल्लेख छ। घाइते तीनै जनाको निगर्स अस्पताल धनगढीमा उपचार भइरहेको केन्द्रले जनाएको छ।