सुदूरपश्चिम प्रदेशका थप दुई खेलाडीले मासिक रूपमा तलब पाउने भएका छन्। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले प्रदेशबाट नियमित रूपमा राष्ट्रिय प्रतियोगिता खेलिरहेका एक महिला र एक पुरुष खेलाडीलाई मासिक १५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम दिने भएको हो।
मासिक रूपमा प्रोत्साहन रकम पाउनेमा बैतडीका दीपक बोहरा र बझाङकी अनु कडायत रहेकी सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए। एमबी ग्रुप डडेल्धुराको प्रायोजनमा दुवै खेलाडीले मासिक रूपमा प्रोत्साहन रकम पाउनेछन्। उनका अनुसार यही मङ्सिर १ गतेदेखि लागू हुनेगरी दुवै खेलाडीलाई मासिक रूपमा प्रोत्साहन रकम दिनेगरी प्रायोजन सम्झौता भएको छ।
सम्झौता भएसँगै एमबी ग्रुपले एक वर्षसम्म दीपक र अनुलाई मासिक रूपमा १५ हजारका दरले प्रोत्साहन रकम प्रदान गर्नेछ। दीपक र अनुले सुदूरपश्चिमबाट थुप्रै राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाली राष्ट्रिय टोलीबाट खेलीसकेका छन्।