कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भाँसीका महानन्द जोशीको निन्द्रा हराएको १४ महिना बितेको छ । चार सय २९ दिनअघि बेपत्ता पारिएका छोराको घर फिर्ती हुने आशामै उनको दैनिकी बितिरहेको छ ।
७ अक्टोबर २०२३ मा महानन्दका एक्ला छोरा विपिन इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएका थिए । बन्धक बनाइएका भनिएका विपिनलाई हमासले न १४ महिनासम्म सार्वजनिक गरेको छ न त उद्वार नै हुन सकेको छ । तर, बिहीबारदेखि भने महानन्दसँगै उनकी श्रीमती पदमा र छोरी पुष्पामा पनि विपिनको घर फिर्ती हुने आशा बढेको छ । कारण, विपिन गाजापट्टीमा जीवित रहेको सूचना इजरायल सरकारले प्राप्त गरेको खबर आएको छ ।
नेपालका लागि इजरायली राजदूत शमुलिक ए। बासले बिहीबार जोशी जिवित रहेको र उनी चाँडै नेपाल फर्कने आशा व्यक्त गरेका थिए । ‘उनी जीवितै छन्,’ काठमाडौंमा पत्रकारसँगको भेटमा नवनियुक्त राजदूत बासले भनेका थिए, ‘विपिन जीवितै रहेको कुरा सत्य हो । उनलाई गाजापट्टीको कुनै स्थानमा राखिएको सूचना पाएका छौँ ।’ जोशी जिवित रहेको सूचना अरबी मुलुकहरूको स्रोतबाट प्राप्त भएको उनको भनाइ थियो ।
राजदूत बासले विपिन चाँडै नेपाल फर्कने आशा व्यक्त गरेपछि केही राहत महसुस भइरहेको विपिनका बुवा महानन्दले बताए । ‘म र मेरो परिवारको १४ महिना आँसु बगाएर बितेको छ,’ महानन्द भन्छन्, ‘विपिन फर्किन्छन् की भनेर बाटो हेर्दाहेर्दै १४ महिना पुगेको छ । छोराको सकुशल उद्धारका लागि गुहार गर्दागर्दै थाकिसकेका छौँ । इजराइली राजदूतको भनाइले केही आशा जागेको छ ।’
विपिन बेपत्ता भएदेखि नेपालमा दुई प्रधानमन्त्री र तीन परराष्ट्रमन्त्री भइसकेको बताउँदै उनले सबैलाई उद्वारका लागि गुहार गरिसकेको बताए । ‘राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई भेटेरै विपिनको उद्वारका लागि अनुरोध गरेका थियौँ,’ उनले भने, ‘तीनै जना परराष्ट्रमन्त्रीज्यूलाई पनि सोही आग्रह गरेका थियौं । तर, अहिलेसम्म उद्वार भएको छैन ।’
विपिन बेपत्ता हुँदा कञ्चनपुरकै प्रतिनिधिसभा सदस्य एनपी साउद परराष्ट्रमन्त्री थिए । वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सुदूरपश्चिमकै प्रतिनिधत्व गर्छिन् । ‘एनपी साउदज्यूलाई सबैभन्दा बढी पटक भेटेर विपिनको उद्वारका लागि आग्रह गरेका थियौँ’ महानन्दले भने, ‘पहिले परराष्ट्रमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई र अहिलेका परराष्ट्रमन्त्री आरजु देउवाज्यूलाई पनि भेटेका छौँ । सबैले विपिनको रिहाइका लागि सक्दो पहल भइरहेको आश्वासन दिएका थिए । तर, रिहाइ कहिले हुने हो रु थाहा छैन ।’
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनी इजरायल पुगेको २५ दिनमै हमास समूहले त्यहाँ आक्रमण गरेपछि विपिन सम्पर्कविहीन भएका थिए ।
सोही आक्रमणमा विपिनजस्तै कृषि सिक्नका लागि इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई हमास समूहले बन्धन बनाएको भनिएको छ ।