दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको काम चाँडै अघि बढ्छः मन्त्री भण्डारी
2025/01/15, 4:38
 
ss

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम चाँडै अघि बढ्ने बताएका छन् । सुक्खा बन्दरगाह निर्माण हुने क्षेत्रमा पर्ने रुख कटानको आदेश भइसकेकाले छिट्टै निर्माणको काम अघि बढ्ने मन्त्री भण्डारीले बताएका हुन् । प्रेस चौतारी नेपाल कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले सुक्खा बन्दरगाह क्षेत्रमा पर्ने रुख कटान गरिसकेपछि भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमति भइसकेको बताए ।

‘नेपाल र भारतका वाणिज्य सचिवस्तरीय संयन्त्र(आईजीसीको बैठकमा नेपालले रुख कटानको काम सम्पन्न गरेपछि लगत्तै भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमती भएको छ,’ भण्डारीले भने, ‘हामीले रुख कटानको आदेश पाइसकेकाले चाँडै काम सुरु हुन्छ । त्यसपछि भारतले ठेक्का लगाएर सुक्खा बन्दरगाह निर्माणको काम अघि बढाउँछ ।’ आईजीसी बैठकमा नेपाल र भारतबीच बैतडीको झुलाघाट, डडेल्धुराको शीर्षमा मोटेरेबल पुल निर्माण गर्ने सहमति गरिसकेकाले चाँडै निर्माण गर्नेगरी सम्झौता भएको उनले बताए । यस्तै कैलालीको गौरीफन्टा नाकालाई स्तरोन्नति गरेर मुख्य भन्सार नाकाका रूपमा विकास गर्ने सहमति पनि भएको उनले बताए ।

‘पलियादेखि दुधुवा नेसनल पार्कको बाटो स्तरोन्नति गरेर गौरीफन्टा नाकामा मुख्य भन्सार बिन्दु बनाउने, त्यसका लागि आवश्यक पर्ने क्वारेन्टाइन लगायतका संरचना निर्माण गर्ने सम्झौता भइसकेको छ,’ भण्डारीले भने, ‘दोधाराचाँदनी र गौरीफन्टा नाकालाई व्यवस्थित गर्न रेल सेवाको अध्ययन कार्य अघि बढाउने सहमति पनि भारतीय पक्षले गरेको छ ।’


‘हरैया विशेष आर्थिक क्षेत्र निर्माणको काम पनि चाँडै थाल्छौं’

मंगलबार नै कैलालीको हरैया विशेष आर्थिक क्षेत्रको प्रस्तावित क्षेत्रको स्थलगत निरीक्षण समेत गरेका मन्त्री भण्डारीले चाँडै काम अघि बढाइने दाबी गरेका छन् । गोदावरी नगरपालिका–७ र ८ मा पर्ने हरैया विशेष आर्थिक क्षेत्रका लागि आवश्यक पर्ने जग्गाको रेखाङ्‍कन भइसकेकाले चालु आर्थिक वर्षमा सरकारले एक करोड बजेट विनियोजन गरेको छ । उक्त बजेटले चालु आर्थिक वर्षमै घेरबार निर्माण गरिने मन्त्री भण्डारीको भनाइ छ । त्यसपछि क्रमशः डीपीआर निर्माण लगायतका कामको थालनी गर्दै हरैया विशेष आर्थिक क्षेत्र निर्माणका कामलाई अघि बढाइने मन्त्री भण्डारीले बताए ।

उद्योगको विकास गर्दै औद्योगिक क्षेत्रको विस्तार नगर्दासम्म आर्थिक समृद्धि प्राप्त नहुने भएकाले त्यसतर्फ गम्भीर भएर लागेको बताए । केही विद्यमान कानुनका कारण औद्योगिक विकासको वातावरण बन्न नसकेकाले लगानीमैत्री वातावरण बनाउन सरकार अग्रसर हुने उल्लेख गरे । भैरहवा, सिमरा र पाँचखाल औद्योगिक क्षेत्रपछि हरैयालाई प्राथमिकतामा राखिएको बताएका भण्डारीले केही नीतिगत सुधारका कारण निर्माणको प्रक्रिया अघि बढाउने र लगानीमैत्री वातावरण बनेको दाबी गरेका छन् ।