सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट एक हजार दुई सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा शुक्रवार साँझ एक हजार दुई सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।
उनका अनुसार शुक्रवार भने सेती अस्पतालबाट एक जनालाई मात्रै डिस्चार्ज गरिएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कञ्चनपुरका तीन सय ५६ जना, बैतडीका दुई सय ५२, डडेल्धुराका एक सय ८८, अछामका एक सय ६४ र डोटीका एक सय ५७ र कैलालीका एक सय एक जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको छ ।
यस्तै बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन ।