सुदुरपश्चिम प्रदेश सरकारले खबरकुञ्जमा आएका दुई वटा समाचार प्रति आपत्ति जनाउँदै खण्डन गरेको छ । पीसीआर मेसिन खरिदमा अनियमिताको गन्ध, सरकारी कागजात किर्तेका अभियुक्तलाई ठेक्का र पीसीआर मेसिन खरिदमा हाकाहाकी ९१ लाख भष्ट्राचार शिर्षकको समाचार प्रति खण्डन गरिएको हो ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले पीसीआर मेसिन खरिदको ठेक्कामा कुनै मिलोमतो र अनियमितता नभएको भन्दै कानून सम्मत रुपमा धनगढीको डिबी मेडिसिनले पाएको दावी गरेको छ । समाचारमा भनिएको जस्तो कुनै पनि अनियमितता नभएको भन्दै खबरकुञ्जमा प्रकाशन भएका दुई वटा समाचारको खण्डन गरेको हो ।
केन्द्रका निर्देशक डाक्टर गुणराज अवस्थीले डिबी मेडिसिनले प्रचलित कानून बमोजिमको कर चुक्ता प्रमाण पत्र पेस गरेको दावी गर्दै प्रचलित कानून बमोजिम बन्देज लगाएको अवस्था बाहेक सो फार्मलाई खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी रोक लगाउन नसक्ने उल्लेख गरेका छन् । पीसीआर मेसिन खरिदको ठेक्का पाउने डिबी मेडिसिन, सरकारी कागजात किर्ते गरी टेण्डर हत्याएको आरोप लाग्दै आएका व्यवसायी दुस्यन्त बस्नेतको हो । धरौटीमा छुटेका उनको मुद्दा अदालतमा विचाराधी रहेकै अवस्थामा बस्नेतकै फार्मले स्वास्थ्य निर्देशनालयबाट पीसीआर मेसिन खरिदको ठेक्का पाएको छ ।
उनको भन्दा कम कबोल अंक हाल्ने व्यवसायीलाई भने ठेक्का पाएका छैनन । स्वास्थ्य निर्देशनालयले भने सबैभन्दा कम रकम कबोल गर्दैमा बोलपत्र स्वीकार गरिन्छ भन्ने नभएको दावी गरेको छ । निर्देशक अवस्थीले पठाएको खण्डन पत्रमा सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार ठेक्का प्रक्रियामा सहभागी हुने फार्मको कानूनी ग्राह्यता र पूर्णता गरी दुई चरणमा परिक्षण गरिने उल्लेख छ ।
कानूनी ग्राह्यतामा फर्म दर्ता, प्यान भ्याट दर्ता, करचुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन लगायतको परीक्षण र दोस्रो चरणमा बोलपत्र दस्तुर, बैँक ग्यारेन्टी, मूल्य सूची, मालसामान आपुर्ति गर्ने समय, गुणस्तर प्रमाण, स्पेसिफिकेसन बमोजिम भए नभएको, कालोसूचीमा परे नपरेको लगायतका परीक्षण हुने निर्देशक अवस्थीको भनाई छ ।
दुवै चरण पूरा भएपछि मात्र बोलपत्र मूल्याङकनमा जाने भएपनि कानुन सम्मत नभए सोही चरणबाट बाहिरिने एवंम् बोलपत्र रद्द गरिने भएकाले मूल्याङकनबाट सारभुत प्रभावकारी बोलपत्र मात्र स्वीकार गरिने आपूर्ति केन्द्रको भनाई छ । डीबी मेडिसिनले चार करोड ८३ लाख ५४ हजार नौँ सय ६० रुपैँयामा पीसीआर मेसिन खरिदको ठेक्का पाएको छ ।