कैलालीको टिकापुर मालपोत कार्यालयले बुधबार दिउसो १२ बजे पछि सेवा बन्द गरेको छ । आर्थिक वर्षको अन्तिम दिन भएको भन्दै कार्यालयका १२ बजे पछि राजश्व सङ्कलनको सेवा बन्द गरिएको हो । मालपोत कार्यालयले राजश्व संकलन सेवा बन्द गर्दा सेवाग्राही मर्कामा परेका थिए । कार्यालय प्रमुख दल बहादुर चन्दले भने आर्थिक संकलन र हिसाब किताबको लागि १२ बजे पछि कार्यालय बन्द गरिएको बताए ।
‘भोलि देखी नयाँ आर्थिक बर्ष सुरु हुँदै छ’ उनले भने ‘आज हामीलाई धेरै काम हुन्छ त्यसैले १२ बजे पछि राजश्वको काम बन्द गरका हौँ ।’ मालपोत कार्यालयमा १२ बजेपछि पुगेका सेवाग्राहीले राजश्व बुझाउन पाएनन् । टिकापुर मालपोत कार्यालयको कामको चाप हुने भन्दै १२ बजे राजश्व सङ्कलनको काम बन्द गरेको भए पनि त्यो भन्दा बढी चाप हुने धनगढीको मालपोत कार्यालयको सेवा २ बजे सम्म चलेको थियो । ‘हामीले सेवाग्राहीलाई समस्या नहोस् भनेर २ बजे सम्म राजश्व बुझेका थियौँ’ मालपोत कार्यालय धनगढीका प्रमुख प्रेमसिंह कुँवरले भने ।
प्रदेशमै सबै भन्दा बढी सेवाग्राहीको चाप हुने धनगढी मालपोत कार्यालयको सेवा २ बजे सम्म चलिरहेका बेला त्यो भन्दा कम चाप हुने टिकापुरको सेवा १२ बजे सम्म मात्रै सुरु हुनुले सेवाग्राही मर्कामा परेका हुन् . १२ बजे पछि सेवा बन्द गर्ने बिषयमा आफू अनविज्ञ रहेको इलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख शङ्कर बहादुर बिष्टले बताए ।
‘यस बिषयमा मलाई कसैले जानकारी दिएको छैन’ उनले भने ‘सेवाग्राहीलाई सास्ती हुनेगरि सेवा बन्द गर्न पाइँदैन ।’ उनले निर्धारित समय भन्दा पहिले सेवा बन्द गर्नुको कारण माग्ने उनले बताए। कोरोना कहरका कारण अहिले राजश्व तिर्न सेवाग्राहीलाई समस्या छ । सरकारलाई पनि राजश्व सङ्कलनमा चुनौती थपिएको छ । यस्तो अवस्थामा राजश्व बुझाउन आउने सेवाग्राहीलाई सास्ती हुनु विडम्बना हो ।