कैलालीका ३५ वटा सामुदायिक वनमा ठेक्का भएका १७ हजार ७ सय ५६ रुखहरु एकै दिनमा काटिएका छन् । सरकारले रुखहरुको कटानी रोक्न दिएको निर्देशन छल्दै वैज्ञानिक वन नीति अवलबन गरेका वनहरुमा रुख काटिएको हो । रुख कटानी रोक्न निर्देशन आएको अग्रिम जानकारी डिभिजन वन कार्यालयले नै दिएर चाडो काट्न भनेपछि ३५ वटै सामुदायिक वनमा ठेक्का पाएका सबै ठेकेदारहरुले एकै दिनमा रुख काटेर सकेका हुन् ।
डिभिजन वन कार्यालय कैलालीले असार १४ गते रुखहरु कटानी आदेश स्वीकृत गरेको थियो । स्वीकृति दिएको भोलीपल्ट असार १५ गते नेपाल सरकारको रुखहरु कटानी रोक्ने निर्णय कार्यान्वयन गर्न बन बिभागले डिभिजन बन कार्यालयहरुलाई निर्देशन दिएको थियो । कटानी रोक्न आएको निर्देशनको कार्यान्वयन तत्काल नगरेर डिभिजन बन कार्यालयकै सल्लाहमा सबै ठेकेदारहरुले एक दिनमा सबै रुखहरु काटेका हुन् । ३५ वटा सामुदायिक बनबाट रुख कटानी गरेर ४ लाख २४ हजार ७५ दशमलव ९७ क्यूफिट काठ र ५ सय ८२ चठ्ठा दाउरा उत्पादन गरिएको छ ।
श्रोतका अनुसार डिभिजन वन कार्यालय कैलालीलाई जेठ १५ गते नै सवै वनका रुख कटानी तथा ढुवानी बन्द गर्न सरकारले गरेको निर्णय प्राप्त भएको थियो । सो पत्र इमेलमा आएको हुँदा इमेल नखोलेको बहाना बनाएर डिभिजन वन कार्यालयले नै ठेकेदारलाई छिटो रुख काट्न सुचना दिएको थियो । डिभिजनकै छिटो काट्न ताकेतापछि नै ठेकेदारले दिन रात लागेर रुखहरु काटेका हुन् ।
तर डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेल बिभागको रुख कटानी रोक्न निर्देशन असार १७ गते मात्र आएको तर सामाजिक सञ्जालबाट जानकारी पाएका आधारमा आफुले असार १६ गते नै रुख कटानी रोक्न निर्देशन दिएको दावी गर्छन् । उनले रुख कटानमा मेसिनको प्रयोग गरिने भएका कारण कटान आदेश पाएका ठेकेदारले दुई दिनमा रुख कटान गरेको हुन सक्ने बताउँछन् ।
डिभिजन वन कार्यालय कैलालीका अनुसार जेठ १४ गते वैज्ञानिक वन नीति अवलम्ब गरेका वनका ३५ सामुदायिक तथा साझेदारी वनलाई १७ हजार ७ सय ५६ रुख कटान गरी ४ लाख २४ हजार ७५ दशमलव ९७ क्यूफिट काठ र ५ सय ८२ चठ्ठा दाउरा उत्पादन गर्न स्वीकृति दिएको थियो ।