बाजुरामा परीक्षण नगरी एक सय ६० जनालाई क्‍वारेन्टाइनबाट घर पठाइयो
2020/05/14, 4:34
 
qq

बाजुरामा कोराना भाइरस परीक्षणका लागि आरडीटी किट अभाव भएको छ। किट उपलब्ध नभएपछि जिल्ला बाहिरबाट आएर क्‍वारेन्टाइनमा बसेका एक सय ६० जनालाई परीक्षण नै नगरी घर पठाइएको छ। १४ दिन क्‍वारेन्टाइनको बासपछि अनिवार्य आरडीटी जाँच गरेर मात्र घर पठाउनुपर्ने प्रावधान छ। तर, किट अभावका कारण परीक्षण नगरी पठाइएको हो।
 
किट नभएकै कारण बाध्य भएर सात दिन अनिवार्य होम क्‍वारेन्टाइनमा बस्‍ने परामर्शसहित उनीहरूलाई घर पठाउनुपरेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्‍ठ जनस्वास्थ्य अधिकृत दयाकृष्‍ण पन्तले बताए। उनका अनुसार अनिवार्य र्‍यापिड जाँच भनिए पनि निर्देशिकाको दोस्रो बुँदामा कुनै लक्षण नदेखिएको, स्वास्थ्य जाँच नियमित गरिएको र किट अभाव भएको अवस्थामा सात दिन होम क्‍वारेन्टाइनमा बस्‍ने गरी घर पठाउन सक्ने प्रावधान रहेकाले सोहीअनुरुप उनीहरूलाई घर पठाइएको हो। 

किट अभावकै कारण दुई सातादेखि र्‍यापिड जाँच रोकिएको छ। हालसम्म भारतलगायत मुलुकबाट एक हजार एक सय ६२ जना जिल्ला भित्रिएका छन्। प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि एक हजार तीन सयवटा किट मात्र पठाएको थियो। ती किटले विदेशबाट आएका एक हजार एक सय ६० को आरडीटी गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको पन्तले जानकारी दिए।