विजयसाल सामुदायिक होमस्टेमा स्वागतद्वार बनाइयो
2020/07/21, 1:48
 
home stay

कृष्णपुर नगरपालिका २ बाणी स्थित विजयसाल सामुदायिक होमस्टेको स्तर वृद्धिका लागि भौतिक संरचना निर्माणको कार्यलाई अघि बढाईएको छ । नगरपालिकाले होमस्टेको स्तर वृद्धि कार्य थालिएको छ । तीन बर्षदेखि विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको होमस्टेमा नगरपालिकाले पाँच लाखको लागतमा सामुदायिक खाजा घर र पाँच लाखको लागतमा प्रवेशद्वार निर्माण गरेको छ ।

होमस्टेसम्म आन्तरिक तथा बाह्य पर्यटकलाई पुग्न सहजता प्रदान गर्न कालोपत्रे सडक निर्माण गरिएको नगर प्रमुख कर्ण बहादुर हमालले बताए । ‘होमस्टेमा संलग्न मुक्तकमैंया परिवारलाई पर्यापर्यटनसंग जोडेर आर्थिक रुपमा सम्पन्न बनाउने गरी कार्य अघि बढाएका छौं ।’ नगर प्रमुख हमालले भने–‘विपन्न मुक्त कमैंया परिवारको आर्थिक अबस्था सुधार गर्न होमस्टेले सघाउ पुर्याउने भएकाले यसको स्तर वृद्धिमा लागेका छौं ।’ होमस्टे सञ्चालनका लागि परिकार बनाउने तालिमसंगै संस्कृति प्रर्वद्धन गर्ने कार्य र भौतिक संरचना निर्माण गर्ने कार्यमा नगरपालिकाले सघाउदै आएको उनले बताए ।

होमस्टे भन्दा पाँच किलो मिटर टाढा रहेको सिस्ने सीमसार क्षेत्रको अबलोकनका लागि पर्यटक पुरयाउनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पद्मार्ग निर्माण गरिएको छ । होमस्टेमा आउने पाहुनालाई सिस्ने सीमसार क्षेत्रको अबलोकन गर्न लैजानका लागि व्यवस्था गरिएको छ । सीमसार क्षेत्रमा पिकनिक स्पट निर्माण गर्ने लगायतका कार्य समेत अगाडी बढाईएका छन । 

होमस्टे नजिकै रहेका गडविजला ताल संरक्षण, ग्वासी समैजी मन्दिरका भौतिक संरचना निर्माण, राना थारु, चौधरी थारु र पहाडी समुदायको लोपोन्मुख अवस्थमा पुगेको संस्कृति संरक्षणका लागि समेत बजेटको व्यवस्था गरी कार्य अगाडी बढाउदै आएको नगर प्रमुख हमालले बताए । नगरपालिका क्षेत्रमा बहुसांस्कृतिक संग्रहालय निर्माणको कार्यलाई अगाडी बढाईएको उनको भनाई रहेको छ । मुक्तकमैंया परिवारलाई सम्पति कर र मालपोत वापतको लाग्ने कर नगरपालिकाले मिनाहा गरेको छ । आर्थिक रुपमा विपन्न मुक्त कमैंया परिवारका महिलाहरुले होमस्टे सञ्चाल गरी आम्दानी लिन थालेका छन ।