
सुदूरपश्चिम प्रदेशमा एकसय भन्दा बढी खानेपानी योजना २० वर्षदेखि अलपत्र परेका छन् । खानेपानी योजनामा प्रदेशले बजेट हाल्न नमिल्ने र सङ्घीय सरकारले न्यून बजेट विनियोजन गर्दै आएका कारण ती योजना अलपत्र परेका हुन्। सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रालयका अनुसार सुदूरपश्चिममा सङ्घीय सरकारले प्रदेश सरकारलाई ५८१ वटा खानेपानी आयोजना हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरिएका योजना प्रदेशका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले रेखदेख गर्दै आएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका डिभिजन प्रमुख मोहन कुँवरका अनुसार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले १५८, डोटीले १६१, डडेल्धुराले ९७ र १६५ वटा सङ्घीय सरकारका सःशर्त योजना कार्यान्वयनमा रहेका छन् । बैतडीले ४५, डोटीले ८३, डडेल्धुराले २५ र कैलाली २३ वटा प्रदेशको योजना सञ्चालन गरिरहेको उनको भनाइ छ। यी सबै खानेपानी योजना सम्पन्न गर्न रु २३ अर्ब ७५ करोड ३३ लाख लाग्ने भए पनि सङ्घीय सरकारले गत आर्थिक वर्ष २०७६र७७ मा जम्मा तीन अर्ब ५८ करोड १२ लाख मात्रै विनियोजन गरेको डिभिजन प्रमुख कुँवरले बताए ।
पर्याप्त बजेट विनियोजन नगरिँदा सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका खानेपानी योजनाहरुको काम सुस्त रहेको भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराको भनाइ छ । करोडौंँ रकम पर्ने योजनामा हरेक वर्ष थोरै बजेटले काम गर्दा कुनै पनि प्रगति देखिन नसकेको उनले बताए । क्रमागत योजनामा हरेक वर्ष पाँचदेखि ८ लाखसम्म बजेट विनियोजन गरिँदा योजना सम्पन्न नभई बजेट अभावमा भत्किन थालेका छन्। पुराना योजना तत्काल सम्पन्न गरी नागरिकलाई खानेपानी सुविधा दिन प्रदेशको तर्फबाट समेत बजेट राख्ने गरी ऐन परिमार्जन गर्नुपर्ने देखिएको प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

संघीय सरकारले कार्यान्वयन र रेखदेखका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरेको खानेपानी योजनामा संघीय सरकारले बजेट हाल्ने र प्रदेश सरकारले कार्यान्वयन गर्ने गरेको छ । न्यून बजेट विनियोजनले अझै पनि निर्माण भईरहेका योजना सम्पन्न गर्न कम्तीमा आठ वर्ष लाग्ने उल्लेख गर्दै डिभिजन प्रमुख कुँवरले आधारभूत खानेपानी सबै नागरिकलाई समयमै पु¥याउन बजेट बढाउनुपर्ने बताए । एक तथ्याङ्क अनुसार अझै पनि सुदूरपश्चिम प्रदेशका १२ प्रतिशत नागरिकलाई आधारभूत खानेपानीको सुविधा पुगेको छैन । छब्बीस लाख जनसंख्या रहेको सुदूरपश्चिमका ९२ प्रतिशत नागरिकको मात्रै आधारभूत सरसफाइ र चर्पीमा पहुँच पुगेको जनाईएको छ ।