खानेपानी योजना विवादमा बालकको मृत्युः थप ३ आरोपी पक्राउ
2020/07/26, 1:00
 
death

डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा बालकको मृत्यु  भएको घटनामा फरार ८ जनामध्ये प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गत असार २६ गते आलिताल गाउँपालिका वडा नम्बर ६ का दुई गाउँका स्थानीयबीच खानेपानीको योजनाका विषयमा विवाद हुदा ८ वर्षीय हिमांशु महराको मृत्यु भएको थियो ।

घटनाको एक दिनपछि मृतकका बुवा गणेश महराले घटनामा संग्लग्न १२ जना विरूद्ध प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले ४ जनालाई तत्कालै पक्राउ गरेको थियो । ८ जना भने फरार थिए । फरारमध्ये  ३ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उनले घटनामा संलग्न ५ जना अझै फरार रहेकाले उनीहरूको खोजी कार्य भइरहेको बताए । घटनापछि गाउँपालिकाले मृतक बालकका नाममा एक लाख रुपैयाको अक्षय कोष स्थापना गरेको छ । गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले विवाद भएकै खानेपानीको योजनाका लागि छुट्याइएको बजेटबाट मृतक बालकका नाममा अक्षय कोष स्थापना गरिएको बताए ।