कञ्चनपुरको झलारीमा टायर बालेर प्रदर्शन, राजमार्ग अवरुद्ध
2020/07/27, 5:32
 
rajniti

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कुटपिट गरेको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। ती पक्राउ परेका अफ्ना कार्यकर्ता रिहाईको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले झलारीमा विरोध प्रदर्शन गरेको छ। कार्यकर्ताले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा टायर बालेर गरिरहेका छन्। प्रदर्शनका कारण अहिले सो राजमार्गको झलारी खण्ड अवरुद्ध बनेको छ। 

नेपाली कांग्रेस सम्वद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष महरामाथी हातपात गरेको थियो। वडाध्यक्षको किटानी जाहेरीपछि हातपातमा संलग्न शुक्लाफाँटा नगरपालिका –८ का बसन्त ठगुन्ना, कमान सिंह ठगुन्ना, नारद ठगुन्ना, बिनोद ठगुन्ना, नबिन ठगुन्ना, र आनन्द सिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। वडा अध्यक्षबाट किटानी जाहेरी आएपछि सबैलाई सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक अमर थापाले बताए। 

कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा गएकोे समूहले वडाअध्यक्ष महरामाथि एकाएक आक्रमण गरेको थियो।  शनिबार राति बसन्त ठगुन्ना सहितका युवकले स्थानीय सुरज चौधरीलाई कुटपिट गरेपछि वडाअध्यक्ष महराले उनीहरुलाई सम्झाइबुझाई गरेका थिए। सोही विषयलाई लिएर ठगुन्नाको नेतृत्वमा गएको समुहले आइतबार वडाअध्यक्षलाई हातपात गरेका थिए।