कैलालीका बाढी प्रभावित दुई दिनदेखि खाना खान पाएका छैनन् । बाढी अझै पूर्ण रुपमा नघटेकाले प्रभावितहरु भोकभोकै बस्न बाध्य भएका हुन । स्थानीय तहले दिएको बिस्कुट, चाउचाउ र पानीको भरमामात्रै उनीहरु गुजारा गरिरहेको बताइएको छ । बाढी प्रभावित सबैको उद्धार कार्य नसकिएकाले प्रभावितहरुलाई स्थानीय तहले सुख्खा खाना (ड्राइ फूड) मात्रै दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । ‘पहिलो प्राथमिकता सबैको उद्धार हो’, उनले भने । ‘बिहीबारसम्म उद्धार कार्य जारी रहेकाले प्रभावितलाई बिस्कुट, चाउचाउ र पानीमात्रै दिइएको छ ।’ बिहीबार विहानसम्म बाढी घटेको थिएन । बुधबार उद्धार गर्न नसकिएका बाढी प्रभावित परिवारको बिहीबार उद्धार गर्ने कार्य भएको थियो । उद्धार कार्यमा स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र सुरक्षाकर्मी खटेका थिए । बाढी प्रभावितको उद्धारका लागि जिल्लाभरि साढे चार सय सुरक्षाकर्मी खटेको सूचना अधिकारी जोशीले जानकारी दिए । जिल्लाको पूर्वी क्षेत्रमा आएको बाढीले धनसम्पत्तिमा व्यापक क्षति गरेको छ । बाढीले कच्ची घर भत्काउनुका साथै स्थानीयले घरमा भण्डारन गरेको धान, गहुँ लगायतका खाद्यबाली बगाएको हो । यसैगरी, बाख्रा, बङ्गुर लगायत पशुचौपाया पनि बाढीले बगाएको छ । ठाँटीवाला घर नभएका स्थानीयको घरबाट बाढीले धान, गहुँ लगायतका सामग्री बगाएको भजनी नगरपालिकाका विपद् जोखिम न्यूनीकरण स्रोत व्यक्ति खिम पनाडीले बताए । ‘स्थानीयले डेहरीमा भण्डारन गरेका खाद्यान्न बाढीले बगाएको छ’, उनले भने । ‘कतिपयले घरको ठाँटीमा राखेर खाद्य सामग्री जोगाएका छन् ।’ बाढीले गरेको क्षतिको पूर्ण विवरण सङ्कलन गर्न भने केहि दिनसम्म लाग्ने जनाइएको छ । अझै पनि धेरै घर डुबेकै अवस्थामा रहेकाले स्थानीय तह उद्धारमै केन्द्रित रहेको पनाडीले उल्लेख गरे । बुधबार दिनभरि र बिहीबार विहानैदेखि उद्धार कार्य भइरहेको भजनी नगरपालिका–३ का वडा अध्यक्ष विक्रम चौधरीले बताए । ‘हिजो उद्धार गर्न बाँकी रहेकाहरुको उद्धार कार्य जारी रहेको छ’, उनले भने । बाढीले धेरै स्थानीयको घर भत्काउनुका खेतीपातीमा व्यापक नोक्शान गरेको अध्यक्ष चौधरीले उल्लेख गरे । उनले भने–‘क्षतिको अहिलेसम्म लेखाजोखा नै गर्न सक्ने अवस्था छैन ।’ बाढीले जिल्लाको विभिन्न स्थानीय तहका छ हजार ३२० घरपरिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार जोशीपुर गाउँपालिकामा दुई हजार ३१५ घर डुबानमा परेको थियो । यसैगरी, भजनी नगरपालिकामा दुई हजार १८०, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८२५ घरपरिवार प्रभावित भएका छन् । भने झन्डै दुई हजार ५०० परिवार विस्थापित भएका छन् । बाढीमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव आज फेला परेको छ । भजनी नगरपालिका–८ जनकपुरका ११ वर्षीय एजिकल चौधरीको शब बिहीबार साँझ फेला परेको हो । दुई जना अझै फेला बेपत्ता छन् । उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । बेपत्ता हुनेमा ४० वर्षीय इश्वर शाही र ३३ वर्षीय चक्र बिक रहेका छन् । यसैगरी, बाढीमा बगेका तीन जनाको सकुशल उद्धार गरिएको छ । भजनी नगरपालिका–८ का हेमन्त शाह, बिक्की र ४० वर्षीय बलराम चौधरीको सकुशल उद्धार गरिएको हो । बाढीले बगाएर बेपत्ता भएका व्यक्तिहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । प्रभावितहरुलाई उद्धार गरि हुलाकी राजमार्गको अग्लो ठाउँ, विद्यालय र सामुदायिक भवनमा राखिएको छ । स्थानीय तहहरु अहिलेसम्म उद्धारमै केन्द्रित रहेकाले प्रभावित व्यक्तिलाई खानाको व्यवस्था गर्ने वा राहत बाँड्ने काम नभएको पनाडीले बताए । ‘आज पनि उनीहरुलाई ड्राइ फूड दिइएको छ’, उनले भने । यसैबीच, मध्याह्नतिरबाट वर्षा रोकिएपछि नदीमा पानीको सतह घटन थालेको छ । विहान मोहना, पथरैया र काँढा नदीमा पानीको सतह बढे पनि दिउँसोतिर केहि हद्सम्म घटेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले बताए । कर्णाली, कान्द्रा, खुटिया, घुरहा, कटैनी नदीमा पनि पानीको सतह घटेको छ । पानीको सतह कम भएपछि केहि विस्थापितहरु आ–आफ्नो घरतिर फर्किने क्रममा रहेको जोशीले उल्लेख गरे । ‘घरबाट पानी निस्केपछि केही विस्थापित आ–आफ्नो घरमा फर्किरहेका छन्’, उनले भने । मोहनामा पानीको सतह घटेपछि डुबान क्षेत्रमा आएको पानीलाई मोहना नदीले तानी रहेको जनाइएको छ । भारतले बनाएको कैलाशपुरी बाँधका कारण हरेक वर्ष भजनी लगायत कैलालीको पूर्वी क्षेत्रमा डुबान समस्या हुने गरेको पनाडीले बताए । ‘त्यसै त यो क्षेत्र होचो छ’, उनले भने । ‘बाँधका कारण पानी स्वतन्त्र रुपमा भारततिर जान पाउँदैन । त्यसैले डुबान हुन्छ ।’ कैलालीमा गएको मङ्लबार रातिबाट ठूलो वर्षा भएको थियो । पछिल्लो २४ घण्टामा यहाँ १९८ मिलिमिटर पानी परेको हावापानी फिल्ड कार्यालय अत्तरियाका प्रमुख सिङ्गल चौधरीले जानकारी दिए । बाढीले भजनी–सत्तीसम्मको विभिन्न ठाउँमा हुलाकी सडकलाई भत्काएको छ । सडक भत्केपछि आवतजावतमा समस्या भएको छ । यसैबीच, बुधबाररातिबाट भएको वर्षाका कारण धनगढी उपमहानगरपालिकाको विभिन्न क्षेत्रमा डुबान भएको छ । वर्षाको पानी जमेर बिहीबार डुबान भएको हो । पानी निकास नभएका कारण वडा नम्बर ३ को मिलन चौक, विशालनगर, बोराडाँडी, वडा नम्बर २ को बैइया बेहडी लगायतको ठाउँमा डुबान भएको थियो । धनगढीमा डुबान भएपछि समस्या समाधानको माग गर्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरुले डुबान समस्या समस्या हुनु पर्ने माग राख्दै सडक अवरुद्ध गरेका थिए ।
2025/01/10, 2:06
2025/01/10, 2:02
2025/01/10, 2:01
2025/01/10, 1:59
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/18, 12:35
2021/01/27, 4:51
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/04/28, 1:30