कैलालीमा बाढीको वितण्डाः अन्न बगायो, वस्ती डुबायो, सडकमा बास
2020/08/01, 8:05
 
badi

कैलालीको भजनी नगरपालिका–६ नवलपुरकी ४० वर्षीया ललिता चौधरीको परिवारले खाना खान नपाएको तीन दिन भइसक्यो । अविरल वर्षाका कारण आएको बाढीले वितण्डा मच्चाएपछि आफू जोगिनु कि अन्न जोगाउनुको अवस्था भएपछि आफू र लालाबाला जोगाउन लागि परिन् ललिता । बाढीले घर डुबाएपछि उनलाई बालबच्चा र सासुससुरालाई सुरक्षित स्थानतर्फ ओर्सार्नै ठिक्क भयो, अलिकति जोहो गरेर राखेको अन्नपाताम ध्यानै दिन पाइनन् ।
“घरभित्र पसेको बाढीले धान राख्ने डेहरी (भकारी) भत्कियो, अन्न बग्न थाल्यो ।

 छिमेकीहरूको सहयोगले आलकिति अन्न उतार्न सक्यौं। बाँकी सबै बगायो,” ललिताले आँखाभरी आँशु बनाउँदे सुनाइन् । बाढीले उनको अन्न सँगै लुगा कपडा र भाडा बर्तन पनि सबै बगायो। बाढीको वितण्डाले ५, ६ वर्षका दुईजना नाती र बुढा सासु ससुरा पनि दुई दिनदेखि भोकै छन्। बाढी त यसअघिका वर्षहरूमा पनि आउँथ्यो, तर यसरी बिजोग बनाएर जाँदैन थियो । “यो वर्ष आयो, रुवाएर गयो,” ललिता आफूभन्दा बढी बुढा सासु ससुरा र नातीहरूको भोक देखेर विक्षिप्त छिन् । उनको छोरा टीकापुर घटनामा जेल जीवन बिताइरहेका छन्। खाने र लगाउने त परकै कुरा भयो बस्ने घर पनि बाढीले बगाएपछि ललिताको परिवार तीन दिनदेखि सडकमा बास बसिरहेको छ । 

यो कष्ट कैलालीका बाढी पीडितको प्रतिनिधि घटना मात्रै हो । भजनी नगरपालिका–८ जागा टोलका ३० वर्षीया सहेरुनी निसाको पनि दुई बच्चा सहित सडकमै बास भइरहेको छ । शरिर ढाक्ने लुगा बाहेक उनीसँग बाँकी केही छैन । “पल्लो घरबाट मागेर ल्याएको डेक्चीले सडकमा चाउचाउ पकाएर केटाकेटीलाई खुवाएँ । रातभर पानी पर्छ, कहाँ लगेर ओत लाउने हो केही मेसो पाएकी छैन,” उनले सुनाइन । कान्द्रा नदीको किनारमा रहेको यो बस्तीमा जतिसुकै बेला बाढी पस्न सक्छ। देखेर पनि उनीहरूले गर्नसक्ने कुनै विकल्प छैन, कारण सरेर जाने जग्गा छैन । बस्तीका धेरैले बाढीबाट आफ्नो ज्यान त जोगाए तर शरिरमा भएको लुगा बाहेक केही जोगाउन नसकेका उनीहरू त्यही ज्यान पाल्न के खाने भन्ने चिन्तामा छन ।

नजिकैको खैराका पुन्सी लामा दोस्रो दिन रोडमा आएर बाढी हेर्दै बसेकी थिइन्। हेर्दाहेर्दै घर पसल बाढीले निमेषमै बगरमा परिणत भयो । तर गर्न सकिने केही थिएन, उनी आफ्नै कन्त बिजोग हेरेर बस्न बाध्य भइन् । उनले पनि पेट भर्न चाउचाउ र बिस्कुटको भरपर्नु परेको छ । तर अहिलेसम्म राज्यका कुनै निकाय पनि उनीहरूको खबर बुझ्न बस्तीमा आइपुगेका छैनन्। दुई दिन बितिसक्दा पनि कोही नआउँदा उनीहरू राज्य छ कि छैन भनेर आफैसँग प्रश्न गरिरहेका छन । बस्तीको बीचमा एउटा मात्रै पक्कि घर छ । वरपरका खेतमा पसेको बाढीले बस्तीलाई सागरजस्तो देखाएको छ ।

पक्की घरको छतमा त्रिपाल बसेका मान्छेलाई सडकबाट हेर्न मात्रै सकिन्छ, न उनीहरू सडकमा आउन सकेका छन्, न त सडकका मान्छेहरू उक्त घरसम्मै पुग्न सकेका छन् । त्यस बाहेक धेरै मान्छे बाढीका कारण सम्पर्क विहिन भएका छन् । गाउँमा विद्युत सेवा अवरुद्ध छ । स्थानीयसँगको मोबाइल सम्पर्क टुटेको छ। ती बस्तीहरूमा भएको क्षतिका बारेमा अझै यकिन गर्न सकिएको छैन । भजनी नगरपालिका ८ का सुनाहाफाँटा, गोरचौरा, खैरा कृष्णनगर, जनकपुर, महादेउली लगायतका गाउँ बाढीबाट अति प्रभावित छन् । स्थानीयहरू विद्यालय, हुलाकी सडक, पक्की घरको छतजस्ता ठाउँमा रात कटाउन बाध्य छन ।