भारतको केरलामा दीपेन्द्र ऐडीका हजुरबुबाले चौकीदारी गरेका थिए । हजुर बुबा बितेपछि त्यही काम बुबाले सम्हाले । ६० वर्ष पुगेका बुबा थला परेपछि ड्युटी सम्हाल्न गत मंसिरमा दीपेन्द्र श्रीमती र छोरी सहित केरला गएका थिए । बझाङको बुंगल नगरपालिका–६ डिन्नुका ऐडीको तीन पुस्तादेखि भारतमा गर्दै आएको रोजगारी कोरोनाका कारण गुमेको छ । अहिले उनी परिवार सहित गाउँ फर्केका छन ।
राति चौकीदारी र दिउँसो होटलमा काम गरेर मासिक सरदर १८ हजार भारु घर पठाउँथे उनी । त्यो पैसाले भाइको पढाइ, बुबालाई ओखती र घरका अन्य ६ जनाको गुजारा चलाउन जेनतेन पुगेको थियो । १२ कक्षा पढेपछि बुबाले गर्दै आएको चौकीदारी थाम्न भारत पुगेका उनी भाइको पढाइ सकिएपछि मात्र घर फर्कने सोचाइमा थिए । कोरोना कहरले रोजगारी गुमेपछि उनको योजना भताभुंग भएको छ । ‘अब जहान परिवार कसरी पाल्ने भन्ने चिन्ता छ । भाइलाई पढाउन त सम्भव नै छैन,’ उनले भने ‘महिनाको साढे तीन हजार शुल्क लाग्छ । डेरा भाडा र खाना गर्दा महिनामा आठ हजारजति पुग्छ । यत्रो पैसा कहाँबाट पु¥याउनु ?’
डोटीको पूर्वीचौकी गाउँपालिकाका तुलाराम बीसीको परिवार भारतको मुम्बईमा बस्न थालेको १२ वर्ष भएको थियो । कोरोना कहरसँगै उनको पनि चौकीदारीको रोजगारी गुम्यो । दुई महिना अघि उनी परिवार सहित स्वदेश फर्केका हुन् । छोराछोरीको पढाइ अलपत्र परेको र अर्कोतिर आम्दानीको स्रोत नहुँदा रनभुल्ल परेको उनले बताए ।
अछामको साँफेबगर नगरपालिका–१३ बाब्ला घर भएका कृष्ण साउँ श्रीमती सहित पाँच वर्षदेखि दिल्लीको साकेतमा चौकीदारी काम गर्थे । राति चौकीदारी बाहेक बिहान गाडी सफा गरेर अतिरिक्त कमाइ गर्दै आएका थिए । दुवै कामबाट मासिक २० हजार रुपैयाँ कमाइ हुन्थ्यो । उनी रोजगारी गुमाएर गत असारमा घर फर्केका छन । ‘फर्केपछि त हातमुख जोर्नै आपत् हुन थालेको छ,’ उनले भने ।
बाजुराको सिंगाडा घर भएका पुरन बुढा १५ वर्षदेखि दिल्लीको साहदरामा होटलमा कुकको काम गर्थे । कमाइ मासिक १५ हजार भारु थियो । मासिक १० हजार घरमा पठाउँथे । लकडाउनमा फसेर खान बस्न समस्या भयो । केही उपाय नलागेपछि आफन्तबाट सापटी गरेर घर आए । ‘इन्डियाको रोजगारी छाडेर आइयो । आठ जनाको परिवार अब कसरी पालुँ भन्ने समस्याले पिरोलेको छ,’ उनले भने, ‘खानै नपाएर मरिन्छ जस्तो छ ।’ लामो समय रोजगारीका लागि भारत पसेकाहरूले घर फिरेर स्थानीयस्तरमा रोजगारीका अवसर देखेका छैनन् । न आफ्नो जग्गा, जमिन छ न त कृषि कर्म गर्ने बानी नै छ । गुजाराको मेलो पहिल्याउन नसकेकाहरू गाउँबस्तीमा टोलाएर बसेका भेटिन्छन ।
बाजुराको साप्पाटा मुक्तिकोटका राजे विक गत वर्षको मंसिरमा गढवाल गएका थिए । त्यहाँ ढुंगा फुटाउने र बोक्ने काम गर्थे । उनी लगायत १७ जनाको रोजगारी गुम्यो । ‘लामो समय लकडाउनमा फसेपछि वैशाखमा गाउँ पुगें । १० दिन क्वारेन्टाइनमा बसेर घर पुग्दा जहान, बाल बच्चाको बिचल्ली थियो । घरमा खानेकुरा थिएन । किनेर ल्याउन पैसा पनि थिएन,’ उनले भने । बझाङकै थलारा गाउँपालिकामा मात्रै लकडाउन सुरु भएयता तीन हजार जनाभन्दा बढी भारतबाट घर फर्किसकेका छन् ।