धनगढी स्थित बी पोलिटेक्निक ईन्स्टिच्युट(बिपिआइ) मा संचालित महिला आइसोलेसन तथा होल्डिङ्ग सेन्टरबाट गर्भवतीसहित १० जना महिला कोरोना जित्दै घर फर्किएका छन्। नेपालकै पहिलो महिला मैत्री आइसोलेसन तथा होल्डिङ्ग सेन्टरमा रहेका ११ जना महिला मध्ये १० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आइसोलेसनबाट बिदाई गरिएको होल्डिङ्ग सेन्टरका योजनाकर्ता दिपक उपाध्यायले बताए।
धनगढी उपमहानगरपालिका १९ कि ३० वर्षीया महिला भारतबाट फर्केर स्थानीय तहले सम्बन्धित वडामा बनाएको क्वारेन्टिनमा रहेको बेला गरिएको पिसिआर पोजिटिभ देखिएपछि उनलाई साउन १४ गते नमूना आइसोलेसनमा ल्याइएको थियो। शुरुमा केही असजिलो महसुस गरेपनि जाने बेला भने उनी रुदै बिदाइ भइन।
बिपिआइकी सन्चालिका हिरा भण्डारीले आइसोलेसनमा आउनेहरु शुरुमा केहि अफ्ठ्यारो महसुस गरेपनि बिस्तारै घुलमिल हुँदै गएपछि रमाउने गरेको बताइन। उनले यहाँ बस्दा माइतीमै बसे जस्तो महसुस भएको बताउने गरेको जानकारी दिइन।
अन्य महिला जस्तै गर्भवतीहरुले समेत यहाँ बस्दा निकै सहज हुने गरेको बताए। धनगढी उपमहानगरपालिका ७ की २४ वर्षीया गर्भवतीले आइसोलेसनमा निकै राम्रो सुविधा पाएको बताइन। उनले गर्भवतीले पाउनुपर्ने पोषणयुक्त खाना, खाजा लगायत नियमित स्वास्थ्य जाँचले यहाँको वातावरण निकै राम्रो रहेको बताइन। उनले पनि कोरोना जित्दै यहाँबाट जादा खुशीसंगै नरमाइलो लागेको बताइन। ‘माइतीघरबाट बिदाइ भएर पोइलीघर गएजस्तो भयो’ उनले भनीन।
कोरोना रिपोर्ट नेगेटिभ आएपछि यहाँ रहेकाहरुको अनुहारमा निकै चमक देखिन्थ्यो। घर जादा कोसेली स्वरुप सबैलाई हाइजिन प्याकसंगै स्वास्थ्य सामग्री दिइएको थियो। धनगढी उपमहानगरपालिकाले संचालन गरेको महिला होल्डिङ्ग तथा आइसोलेसन सेन्टरलाई युएनडिपी, डब्ल्युएफपी, केयर नेपाल, नेपाल रेडक्रस, ह्युमानिटी फाउन्डेसन लगायतका संस्थाहरुले स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरिरहेको धनगढी उप–महानगरपालिकाका कोभिड –१९ संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए।