जिल्ला अस्पताल डोटीमा पिसिआर मेसिन जडान, मुख्यमन्त्री भट्टले उद्घाटन गर्ने
2020/08/17, 9:05
 
corona

जिल्ला अस्पताल डोटीमा कोरोना भाईरसको परीक्षण गर्ने पिसिआर मेशिन जडान कार्य पूरा भएको छ । आइतबार नै मेशिन जडान कार्य पूरा भएको र अब कोरोना भाईरस सम्बन्धी स्वाव परीक्षण गर्न सकिने बायो मेडिकल इन्जिनियर जय साउँदले बताए ।  मेशिनको जडान कार्य पूरा भएसँगै मंगलबार बिहान ८ बजे सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले समुद्घाटन गर्ने कार्यक्रम तय भएको डोटी जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पिसिआर मेशिन जडान गरिएको हो । गएको चैत्र १५ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्रि परिषदको निर्णय अनुसार डोटी, बैतडी र कञ्चनपुरमा पिसिआर मेशिन सहितको प्रयोगशाला बनाउने निर्णय भएको थियो । जस अनुसार झण्डै ४ महिनापछि गत श्रावण १४ गते डोटीमा भित्रिएको सो मेशिन ढिलै भए पनि जडान भएको छ । गत श्रावण २० गते नै उक्त मेशिन जडान गरी सेवा सूचारु गर्ने भनिएको भए पनि प्राविधिक जनशक्ति ढिलो आउँदा जडान कार्यमा पनि ढिलाई भएको हो । 

डोटीको मेशिन जडान पश्चात परीक्षण नतिजाको वैधता जाँचका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरामा परीक्षण गरिसकिएका १०÷१० वटा पोजेटिभ र नेगेटिभ नतिजाका स्वावहरु सोमबार परीक्षण गरिने सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमूख रमेश शाहीले बताए । सोहि नमूना परीक्षणका आधारमा नतिजा सहि आए परीक्षण कार्यलाई अगाडी बढाईने र नतिजा फरक आएमा सुधार गरेर अगाडी बढ्ने डडेल्धुरा अस्पतालका ल्याब इञ्चार्ज इश्वरी भुषालले बताए ।

मेशिन सञ्चालनका लागि जिल्ला अस्पताल डोटीकै ५ जनालाई प्राविधिक सीपका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरा अस्पतालमा तालिम दिएर तयारी अवस्थामा राखिएको जिल्ला अस्पताल डोटीका यज्ञराज अध्यक्ष जोशीले बताए । जिल्ला अस्पतालमा जडान भएको पिसिआर मेशिन र देशभरका मेशिनहरुको क्षमता एउटै रहेको अर्थात एक पटकमा ९६ वटा नमूना स्वाव परीक्षण गर्न सकिने र जनशक्तिका आधारमा एक दिनमा ८ सय देखि १२ सयसम्म स्वाव परीक्षण गर्न सकिने जनाईएको छ ।

डोटीमा पनि पिसिआर मेशिन जडान भई कोरोना परीक्षण सेवा सञ्चालन भएमा डोटीसँगै अछाम र बाजुरा जिल्लाका नमूना स्वाव परीक्षण गर्न सहज हुने छ । उता बैतडीमा पनि पिसिआर मेशिन जडान कार्य भईरहेको तर सेवा सुचारु गर्न भने केहि समय लाग्ने र कञ्चनपुरका लागि भने मेशिन जडानको कुनै सुरसार नरहेको जनाईएको छ ।