ख्याउटे ज्यानका उनले घर बाहिर उभिरहेकी केटीलाई सोधे, ‘हाकिम साबहरू यहीं छन् ?’ केटीले ‘छन’ भन्ने इसारा गरेपछि उनी हतार–हतार भित्र पसे । अनि भान्सा कोठामा खाजा खाइरहेका दुई जनाका अगाडि हात जोड्दै बिन्ती गरे, ‘सर मेरी आमालाई बचाइदिनुस् ।’ यसरी गुहार माग्ने व्यक्ति हुन् साइपाल गाउँपालिकाको धुलीका धुर्पु रोकाया । उनका अगाडि थिए, प्रमुख जिल्ला अधिकारी कलमराज भण्डारी र प्रहरी नायब उपरीक्षक गणेश बम ।
‘आमा सात महिनादेखि ओछ्यानमै छन् । ज्वरो आउँछ । काँसो (खोकी) लाग्छ । हण (जिउ) उसायाको (सुन्नीएको) छ,’ रोकायाले दुःख सुनाए, ‘बोकेर अस्पताल लिन्या (लैजाने) मन थियो । खर्च पाइएन । सहयोग गरिदिन प¥यो सर ।’ धुलीको इंगलदारमा बन्ने झोलुंगे पुलको सामान हेलिकप्टरले ढुवानी गर्दै गरेको थाहा पाएपछि उनी त्यसैमा आमालाई चैनपुरसम्म लैजाने व्यवस्थाप मिलाइदिन आग्रह गर्दै थिए ।
छिनछिनमा हेलिकप्टर ओहोरदोहोर गरेको देखेपछि बिरामी आमाले नै उनलाई त्यहाँ पठाएकी रहिछन् । धुर्पुको अवस्था देखेर सीडीओ भण्डारी भावुक भए । उनकै अनुरोधमा सिम्रिक एयरका स्टेसन मेनेजर कमल गौतम धुर्पुकी आमालाई अस्पताल पु¥याउन तयार भए । धुर्पुले छिमेकीहरूको सहयोगमा बोकेर आमालाई पाँच घण्टा टाढा हेलिकप्टर बस्ने ठाउँमा पु¥याए । हाल उनी सदरमुकाम चैनपुरस्थित जिल्ला अस्पतालमा उपचाररत छिन् । जाँच गर्दा क्षयरोग भएको देखियो । सोमबार अस्पताल भर्ना भएकी उनको ज्वरो हटिसकेको छ । खोकी पनि केही कम छ । तीन–चार दिनमै ओच्छ्यानबाट आफैं उठ्न र हिँडडुल गर्न सक्ने भएकी छिन । नियमित औषधि सेवन गरेपछि केही महिनामै पूर्ण निको डाक्टरले बताएका छन् ।
‘उसायाका (सुन्निएका) मान्छे कोही बाँचेका छैनन् । तिमी पनि बाँच्दिनौ भनेर गाउँका वैद्यले भन्दा मरिहाल्छु होला भन्ने लागेको थियो । यहाँ आयापछि त ज्वरो पनि छाड्यो । काँसो (खोकी) पनि घट्यो । अब त बाँचिझाउँला,’ ५१ वर्षीया उनले खुसी हुँदै भनिन्, ‘ती हाकिम र हेलिकप्टर मेरा लागि भगवान् भै आया छन् ।’ उनको उद्धार हुने कुरा सुनेपछि उपचारका लागि सदरमुकाम पु¥याइदिन सीडीओ र डीएसपीलाई आग्रह गर्ने अरू पनि थुप्रै थिए । सबैलाई नसके पनि लडेर सख्त घाइते भएकी छोइ लामालगायत चार जनालाई सिम्रिकको हेलिकप्टरले निःशुल्क रूपमा सदरमुकाम पु¥याइदिएको छ ।
यहाँका धेरैले उपचार अभावमै ज्यान गुमाउने गरेका छन् । स्थानीय फुँगे धामी भन्छन्, ‘लाँगा (देवता) कै कृपामा बाँचेका छौं । बिरामी भएका जति सबैको उपचार गर्ने हो भने त धेरैको घरखेत बाँकी रहँदैनथ्यो होला ।’ उपचारका लागि जानै निकै खर्चिलो हुने भएकाले कतिपय स्थानीय मर्न तयार हुने तर छोराछोरीको थाप्लोमा अर्थिक भार बोकाउन नचाहने गरेको उनले सुनाए । ‘पैसा खर्च गर्न सक्नेहरू मात्र पूरा उमेर बाँच्छन,’ धुलीमा रहेको स्वास्थ्य इकाइका इन्चार्ज नवीन बोहराले भने, ‘धेरै जसोले उपचार गरे निको हुन सक्ने सामान्य रोग बिथोलिएर ज्यान गुमाउँछन् ।’
यस गाउँपालिकामा स्वास्थ्य संस्था नै नभएको भने होइन । एक वर्षअघिसम्म एउटा मात्र स्वास्थ्य चौकी थियो । धुली, बलौडी, न्युना र धलौनबाट स्वास्थ्य चौकीसम्म पुग्नै एक दिन हिँड्नुपथ्र्याे । हालसालै धुली र धलौनमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा छन् । तर त्यहाँ कहिलेकाहीँ सिटामोल पनि हुँदैन । स्थानीय तिलक विक भन्छन, ‘कहिलेकाहीँ त ज्वरो आएको औषधि पनि छैन भन्छन् । त्यहाँको औषधिले सबैलाई सन्चो पनि हुँदैन ।’ स्वास्थ्य संस्थालाई प्राप्त हुने ३५ प्रकारका औषधि मात्र यहाँ पाइने भएकाले सबैखाले रोगको उपचार नहुने काँडा स्वास्थ्य चौकी प्रमुख डम्बर खड्काले बताए । उनले भने, ‘कहिलेकाहीँ त्यही औषधि पनि सकिएको हुन्छ । यहाँ स्वास्थ्यमा धेरै समस्या छ ।’ कतिपय अवस्थामा अन्य कारणले ज्वरो आए पनि औषधि अभावमा सिटामोलले नै काम चलाउनुपरेको उनले सुनाए ।
सदरमुकाम चैनपुरबाट यो गाउँपालिकाको कार्यालयको दुरी ३० कोस छ । कार्यालयभन्दा पनि उत्तरतिर ३ वटा गाउँ (धुली, बलौडी र न्युना) छन् । त्यहाँबाट गाउँपालिका केन्द्रसम्म पुग्न झन्डै १ दिन हिँड्नुपर्छ । यी गाउँ पुग्न सदरमुकामबाट ५ दिन लाग्छ । ‘यहाँ स्वास्थ्यको अवस्था निकै दयनीय छ,’ गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने, ‘गाउँपालिकाकै स्रोतबाट सुविधायुक्त अस्पताल बनाउन सकिने अवस्था पनि छैन ।’