बैतडीमा मेयरको दादागिरीः कर्मचारी र प्रहरीमाथि कुटपिट, पिडितलाई उल्टै मुद्दा लाएर पक्राउ
2020/05/18, 8:00
 
mayer

बैतडीको पुर्चौडीमा मेयरले हुलाकका कर्मचारमाथि कुटपिट गरेको आरोप लागेको छ । पुुर्चौडी नगरपालिकाका मेयर रणबहादुर कुँवरले ईलाका हुलाक कार्यालयमा कार्यरत दिलबहादुर धानुकमाथि कुटपिट गरेको आरोप लागेको हो ।

पुर्चौडीका स्थानीय समेत रहेका धानुकसँग भएको समान्य विवादका क्रममा मेयर कुँवरले कुटपिट गरेको पीडितका छोरा रमेश धानुकले आरोप लगाए । उनले बैशाख १ गते सेवाबाट राजिनामा दिएका धानुकसँग विगतदेखि व्यक्तीगत रिसिबीलाई लिएर मेयरले कुटपिट गरी उल्टै प्रहरी मार्फत पक्राउ गर्न लगाएको बताए । मेयरको कुटपिटबाट घाईते भएका धानुकलाई अहिले ईलाका प्रहरी कार्यालय पाटनले पक्राउ गरेको छ । धानुकमाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरिएको छ । 

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक धनदेव साउँदले धानुकलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरिएको बताए । जिल्ला अदालतबाट म्याद थप गरी धानुकमाथि अनुसन्धान थालिने प्रहरी निरिक्षक साउँदले बताए। मेयरले धानुकलाई कुटपिट गरेको कुरा भने प्रहरीलाई कुनै जानकारी नभएको दावी उनको थियो । 

प्रहरीमाथि पनि मेयरले कुटपिट गरेको स्थानीय दावी 
मेयर कुँवरले हुलाकका कर्मचारीमाथि कुटपिट गर्दा नियन्त्रणमा लिन खोज्ने प्रहरी अधिकारीमाथि समेत कुटपिट गरेको आरोप लागेको छ । ईलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी हवलदार मंगलबहादुर रोकायामाथि समेत कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन ।

प्रहरी हवलदार रोकायाले कर्मचारीलाई कुटपिट गर्न नहुने तर उनको कुनै गल्ती भए कानून अनुसार कारवाही हुन्छ भन्दा उल्टै हवलदारमाथि हातपात गरी कुटपिट गरेको पीडित पक्षले बताएका छन । कुटपिट भएपछि पुर्चौडी क्षेत्रमा डिउटीमा खटाईएका प्रहरी हवलदार रोकाया असुरक्षा भएको भन्दै पाटन फर्किएका छन । तर ईलाका प्रहरी कार्यालय पाटनले भने सो कुराको बचाउ गरेको छ । प्रहरी निरिक्षक साउँदले आफ्ना हवलदारमाथि मेयरले हातपात र कुटपिट गरेको विषयमा जानकारी नभएको दावी गरे ।

पुर्चौडी क्षेत्रको सुरक्षाका लागि खटिएका प्रहरी हवलदार घटना लगत्तै फर्किनुको कारणमा भने उनले हवलदारसँगै अन्य प्रहरीहरु समेत फर्किएको जिकिर गरेका छन । हुलाकका कर्मचारी र प्रहरीमाथि कुटपिट गरेको आरोपका विषयमा प्रतिक्रिया लिन मेयर रणबहादुर कुँवरसँग पटक पटक टेलिफोन गर्दा पनि उनले फोन उठाएनन् ।