स्वास्थ्य समस्या झेल्दै कैलालीका बाढी प्रभावित
2020/08/19, 12:15
 
badi

कैलालीको भजनी नगरपालिकाका बाढी प्रभावितको स्वास्थ्यमा समस्या देखिन थालेको छ । डुबानपछिको फोहोर र दूषित पानीका कारण प्रभावितको स्वास्थ्यमा समस्या देखिन थालेको हो । ज्वरो आउने, टाउको दुख्ने, खोकी, दाद, खुट्टाको काप चिलाउने जस्ता स्वास्थ्य समस्या देखिएको भजनी नगरपालिकाले जनाएको छ । त्रिपालमा मुनि बस्ने र फोहोर पानीमा खेल्नेहरु बढी विरामी भइरहेको जनाइएको छ । 

जमेको दूषित पानीमा बालबालिका बढी खेल्न जाने कारणले यस्तो समस्या उनीहरुलाई बढी देखिएको नगर स्वास्थ्य संयोजक कृतिसिंक बिकले बताए । ‘वडा नम्बर ८ को खैरा, गोरचौरा, सोनाफाँटा, काँढाढिक लगायतको गाउँमा बढी समस्या पाइयो’, उनले भने–‘बढीजसो बालबालिका प्रभावित छन् ।’  साउन १४ गते आएको बाढीले भजनी नगरपालिका लगायत जिल्लाको पूर्वी क्षेत्रमा डुबान भएको थियो । सोही बेलादेखि भजनी नगरपालिकाको वडा नम्बर २, ३, ५, ७ र ८ बाट अझै पानी निस्केको छैन । अझै पनि धेरै घरहरु डुबेकै अवस्थामा छन् । 

पानी जमेको आधा महिना पुगिसकेकाले दूषित पानीका कारण विभिन्न खाले स्वास्थ्य समस्या देखिन थालेको हो । बालबालिका, ज्येष्ठ नागरिक बढी विरामी पर्न लागेकाले नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गर्न आवश्यक देखिएको वडा नम्बर ८ हेमा चौधरीले बताइन् । बाढीमा मरेका पशुचौपायाको व्यवस्थापन गरिए पनि फोहोरमैला, दूषित पानी र खेतमा सडेको रोपोको कारणले सङ्क्रमण फैलिने जोखिम कायमै रहेको छ । खेतैभरि धान कुहिएका कारण नाकै थुन्नु पर्ने अवस्था रहेको जनाइएको छ । प्रदूषित पानी, दुर्गन्धका कारण धेरैलाई रोग लागि रहेको वडा नम्बर ८ का वडा अध्यक्ष पङ्कज चौधरीले बताए । ‘प्रदूषण र दुर्गन्धका कारण बालबालिका बढी विरामी भइरहेका छन्’, उनले भने । 

बाढी प्रभावित क्षेत्रमा अशुद्ध खानेपानीका कारण पनि धेरै समस्या हुने गर्दछ । भजनीका प्रभावितलाई सुरुताका नगरपालिकामार्फत पानी शुद्धिकरणका लागि ‘आक्वा’ वितरण गरिए पनि प्रभावितले हाल नल्काकै पानी खाइरहेको जनाइएको छ । उच्च नल्का र राम्रो पानी दिने नल्काका पानी प्रभावितले खाइरहेको अध्यक्ष चौधरीले बताए ।

‘प्रायः सबै नल्का डुबेको थियो, तर, कुनै–कुनै नल्काबाट राम्रो पानी आइरहेको छ’, उनले भने । ‘प्रभावितले राम्रो पानी आउने नल्काका पानी खाइरहेका छन् ।’ यसैगरी, उनीहरुले अचेल आ–आफ्नो घरकोे चर्पी प्रयोग गरिरहेको जनाइएको छ । प्रभावितको स्वास्थ्यमा समस्या देखिन थालेपछि नगरपालिकाले केही ठाउँमा तत्कालको लागि औषधि वितरण गरेको छ । खैरा, गोरचौरा र सोनाफाँटा गाउँमा औषधि वितरण गरिएको हो । 

स्थानीय स्वास्थ्यकर्मी खटाएर प्रभावित सबै गाउँका मान्छेको स्वास्थ्य अवस्थाबारे बुझ्ने कार्य भइरहेको नगर स्वास्थ्य संयोजक बिकले बताए । ‘हामीले बुझेसम्म स्वास्थ्य समस्या भए पनि परिस्थिति जटिल भएको छैन । केही गाउँमा औषधि बाँडेका छौं’, उनले भने । ‘आवश्यक देखिएमा स्वास्थ्य शिविर सञ्चालन गर्न सकिन्छ । त्यसको लागि हामी छलफल गरिरहेका छौं ।’ 

प्रभावित क्षेत्रमा दूषित पानीका कारण स्वास्थ्य समस्या देखिएकाले सकेसम्म उमालेरमात्रै पानी पिउन नगरपालिकाले प्रभावितलाई आग्रह गरेको छ । यसैगरी, कतिपय ठाउँमा चर्पीको समस्या देखिएको जनाइएको छ । प्रभावितलाई शुद्ध खानेपानी र चर्पीको समस्या रहेको बिकले बताए । ‘धेरैले आफ्नै घरको चर्पी प्रयोग गर्न थालेका छन्’, उनले भने । ‘केही ठाउँका प्रभावितलाई भने समस्या भएको छ ।’ बाढीले भजनी नगरपालिकामा दुई हजार तीन सय घरपरिवार प्रभावित भएका छन् । 

यसैबीच, कैलालीको बाढी पीडितको स्वास्थ्योपचारका लागि सदनमा पनि कुरा उठ्न थालेको छ । फोहोर, दुर्गन्धका कारण प्रभावितलाई विभिन्न रोगको जोखिम रहेकाले उनीहरुको स्वास्थ्य सुरक्षाका लागि तत्काल कदम अगाडि बढाउन आवश्यक रहेको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्क कुँवरले प्रदेश सरकारलाई आग्रह गरेका छन् ।