नगरपालिकाले नटेरेर डोजर लाउँदा पहिरो
2020/08/20, 8:32
 
pahiro

तीन वर्षअघि बझाङको बुंगल नगरपालिकाले वडा नम्बर ३ स्थित खोल्लेक डाँडामा क्रिकेट मैदान निर्माण सुरु ग¥यो । डोजरले डाँडो नै भत्काएर मैदान निर्माण थालेपछि करिब एक किलोमिटर तल रहेको वडा नं ५, मिडिगाउँका बासिन्दाहरू झस्किए । गाउँको सिरानमा माटो थुप्रिन थालेपछि स्थानीयले जोखिम हुने भन्दै जथाभावी माटो नफाल्न नगरपालिकालाई अनुरोध गरे । तर, नगरले वास्तै गरेन । बरु अर्को वर्ष मिडिगाउँकै सिरानमा पर्ने गरी खोल्लेक बेरुकाँडा सडकको निर्माण सुरु ग¥यो ।

घुम्ती नै घुम्ती भएको यो सडक निर्माणबाट निस्किएको ढुंगामाटो पनि मैदान खन्दा निस्किएको खातमै थपियो । यति हुँदाहुँदै गत वर्षबाट नगरपालिकाले नै क्रिकेट मैदान लक्षित अर्को रिङरोड बनाउन सुरु ग¥यो । गाउँमाथि दुई वटा सडक र क्रिकेट मैदान निर्माण गर्दा थुप्रिएको ढुंगा माटोको अर्को पहाड नै खडा भयो । गत वर्ष नै बनाएको लुयटीं जाने अर्को सडक बनाउने क्रममा यो गाउँको सिरानी भएर बग्ने तीनवटा खहरे खोलाको प्राकृतिक बहावलाई एकै ठाउँमा ल्याएर मिसाइदियो । तीन वटा खोलाको पानी एकै ठाउँमा बग्न थालेपछि मिडिवासीलाई निद्रा लाग्न छोड्यो ।

पटक–पटकको मौखिक अनुरोध नगरपालिकाले बेवास्ता गरेपछि, गत साउन २७ गते उनीहरूले बुंगल–३, ४ र ५ वडा कार्यालय र नगरको कार्यालयमा लिखित निवेदन नै दिए । उनीहरूको माग थियो, ‘माटोको कृत्रिम पहाड जुनसुकै बेला पनि भत्किन सक्छ । भत्कियो भने गाउँमा ठूलो क्षति हुन्छ । यसको छिटो व्यवस्थापन गरिपाउँ ।’ स्थानीयको अनुरोधलाई नगरपालिकाले हलुका रूपमा लियो । नभन्दै मंगलबार राति २ बजेतिर थुप्रिएको माटोको खातको सानो अंश खस्यो । क्रिकेट मैदानभन्दा एक किलोमिटर जति तल रहेको प्रताप ताम्राकारको घर बगायो ।

घरभित्र सुतिरहेका ताम्राकारका १४ वर्षीय छोरा सचिन र बुंगल–४ तीर्थबगरका उनका भतिजा ५ वर्षीय सुदीप ओखेडाको सुतेकै ठाउँमा च्याप्पिएर ज्यान गयो । पहिरोमा ताम्राकारकी ४० वर्षीया श्रीमती पिपला, १८ वर्षीया छोरी सुनिता, १२ वर्षीया छोरी टिन्टी र १६ वर्षीय छोरा अनिल घाइते छन् । उनीहरू सबैलाई उपचारका लागि धनगढी रिफर गरिएको छ । प्रताप रोजगारीको सिलसिलामा भारतको बेंग्लोरमा छन । थुप्रिएको माटो र ढुंगा गाउँतिर खस्न थालेपछि यहाँका अन्य ५० घर जोखिममा छन ।

‘सिंगै पहाड काटेको ढुंगा र माटो गाउँको सिरानीमा थुपारेपछि जुनसुकै बेला पनि गाउँ बगाउने डरले हामी आत्तियौं,’ स्थानीय जय धामीले भने, ‘गाउँका सबै गएर त्यसरी जथाभावी ढुंगामाटो नफाल्नुस् भन्यौं तर नगरपालिकाले सुनेको नसुन्यै ग¥यो । आज त्यही माटोको रास (थुप्रो) काल बनेर आयो ।’ प्राकृतिक पहिरोले नभई नगरपालिकाको लापरबाहीका कारण अबोध बालकहरूले ज्यान गएको भन्दै स्थानीयले मृतकको सदगत गर्न मानेका छैनन । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र बाँकी रहेको ढुंगामाटोको व्यवस्थापन गरी बस्तीलाई सुरक्षित राख्नु पर्ने उनीहरूको माग छ । ‘यो कुनै भवितव्य घटना होइन,’ पहिरोमा परेर भान्जा र भतिजा गुमाएका स्थानीय विक्रम ओखेडाले भने, ‘नगरपालिकाले बनाएको पहिरोले हाम्रा बच्चाहरू खाइदियो ।’

नगरपालिकाका मेयर धनबहादुर बिष्टले क्रिकेट मैदान र अन्य सडकका कारणले नभई लुयटीं जाने सडक काट्दा तीन वटा खहरे खोलाको प्राकृतिक निकास थुनिएर एक ठाउँमा बग्न थालेका कारण क्षति भएको बताए । उनले स्थानीयले गत साउन २७ गते दिएको ज्ञापनपत्रको विषयमा आफूलाई जानकारी नभएको दाबी गरे । ‘अब जे हुनु थियो भइहाल्यो । पीडितहरूको व्यवस्थापन गर्ने र थप क्षति हुन नदिन नगरपालिकाले काम गर्छ,’ उनले भने । तर, बुधबार बिहान घटनास्थल पुगेकी उपमेयर मीना जागरीले भने गाउँमाथि निर्माण भएको क्रिकेट मैदान र सडक निर्माण हुँदा निस्किएको ढुंगामाटो थुप्रिएर पहिरो गएको बताएकी छन ।