नगरपालिकामा लगाइएको ताला तीन दिनपछि खुल्यो 
2020/08/22, 12:20
 
corona

 निजी विद्यालय स्थानान्तरको विषयलाई लिएर शुक्लाफाँटा नगरपालिकामा गरिएको तालाबन्दी तीन दिनपछि खुलेको छ। शुक्लाफाँटा नगरपालिका-१० बाट बेलौरी नगरपालिकामा स्थानान्तरण गरिएको खप्तड शिक्षा सदन नामक निजी विद्यालय सार्नका लागि सहमति दिएको विषयमा विवाद भएपछि नगर प्रमुख र शिक्षा शाखामा अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले तीन दिनअघि तालाबन्दी गरेका थिए। 

नगरपालिकामा आयोजित सर्वपक्षीय बैठकपछि ताला खोलिएको हो। नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकेन्द्रप्रसाद भट्टमाथि कारबाही गरिने आश्वासन दिइएपछि तालाबन्दी खोलिएको विद्यार्थी नेता अर्जुन भट्टले बताए। बेलौरी नगरपालिकामा स्थानान्तरण गरिएको खप्तड शिक्षा सदन विवादमा आएपछि शिक्षा शाखा प्रमुख भट्टलाई कामकाज गर्न रोक लगाएको छ। शुक्लाफाँटा नगरपालिकामा शुक्रबार साँझ अबेर बसेको जनप्रतिनिधिसहितको बैठकमा सहभागी प्रमुख प्रशासकीय अधिकृत बिसनसिंह थापाले शाखा प्रमुख भट्टलाई हाजिर गर्न दिने, तर अन्य कामकाज गर्न नदिने बताएका थिए।

शुक्लाफाँटा नगरपालिका १० मा फर्जी कागज बनाएर नक्कली विद्यालय स्थापना गरी बिक्री गरिएको भन्दै शिक्षक र विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका थिए। उनीहरुले नक्कली विद्यालय खारेजीको माग गर्दै नगर प्रमुख दिलबहादुर ऐर र शिक्षा शाखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत बिसनसिंह थापाले स्थानान्तरण गरिएको विद्यालयबारे विवाद आएपछि छानबिनका लागि कार्यदल गठन गरिएको जानकारी दिए। ‘छानबिनका लागि कार्यदल गठन गरिएको छ, त्यसको प्रतिवेदन नआएसम्म शाखा प्रमुखलाई हाजिर लगाउने बाहेक शाखा प्रमुखको हैसियतमा अन्य कुनै पनि कामकाज गर्न नदिने निर्णय भएको छ,’ उनले भने। नगर कार्यपालिकाको बैठकले बेलौरी नगरपालिकालाई खप्तड शिक्षा सदन सरि जाने सम्बन्धमा सहमति दिइएको सिफारिस पत्र शिक्षा ऐन, नियमावली, र स्थानिय सरकार सञ्चालन ऐनको कानुनी प्रावधान विपरित भएकाले बदर गर्ने निर्णय समेत गरेको छ।

शाखा प्रमुखलाई स्पष्टीकरण पनि सोधेको छ। शुक्लाफाँटा नगरपालिकाभित्र सञ्चालन हुने गरी खप्तड शिक्षा सदन दर्ता भएको देखिएको र भौतिक रुपमा सञ्चालन भएको नदेखिएकाले सो विद्यालय दर्ता खारेजीका लागि प्रकृया अगाडी बढाउन शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरलाई सिफारिस गर्ने समेत निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए। के हो विवाद ? शुक्लाफाँटा नगरपालिकाऔ१० अर्थात साविकको झलारी गाविस वडा नं ७ मा सञ्चालन गर्ने गरी विसं २०५९ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयले कक्षा १ देखि ५ सम्म सञ्चालन गर्ने गरी खप्तड शिक्षा सदन नाम विद्यालयलाई स्वीकृति प्रदान गरेको थियो। विद्यालय दर्ता भै स्वीकृति दिइएपनि झलारी क्षेत्रमा सो विद्यालयका भौतिक संरचनासँगै पठनपाठनको कार्य भएन। सञ्चालनमा नआएको विद्यालयलाई विसं २०६७ सालमा पुन: स्तरोन्नती गरी कक्षा ६ देखि ८ सम्म पठनपाठन गर्ने सहमति दिइयो। तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले विद्यालय सञ्चालनमा रहेको र आवश्यक प्रकृया पुगेको भन्दै विद्यालय सञ्चालनको अनुमति दिएका थिए।

नगरपालिका क्षेत्रमा सञ्चालनको अनुमति पाएको, तर सञ्चालनमा नआएको विद्यालयलाई सार्न सञ्चालक समितिका अध्यक्ष देवराज अवस्थी र सञ्चालक केशवदत्त अवस्थीले नगरपालिकाको शिक्षा शाखामा साउन १४ गते निवेदन दिएका थिए। उनीहरूको निवेदनमा खप्तड विद्या सदन सञ्चालन हुन नसक्ने अवस्थामा भएको हुँदा शैक्षिक सत्र २०७७ देखि बेलौरी नगरपालिका ४ मा सार्ने र विद्यालय सार्नका लागि नगरपालिकाबाट सहमति माग गरिएको छ। शिक्षा शाखामा दिइएको निवेदनलाई आधार मान्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रप्रसाद भट्टले नगर प्रमुखस्तरीय निर्णय अनुसार विद्यालय सार्ने सहमति दिए। सहमति दिनका लागि बेलौरी नगरपालिकालाई पत्र लेखेपछि विवाद चुलिएको हो।

नगरपालिका क्षेत्रमा सञ्चालनमै नआएको विद्यालयलाई कर समेत छुट दिई स्थानान्तरण सहमति दिएको आरोप लगाउँदै नगरपालिका क्षेत्रका शिक्षक र विद्यार्थी संगठनका अगुवाहरुले आन्दोलन थाले। नगर प्रमुखसँग अस्तित्वमै नरहेको विद्यालयलाई सार्ने सहमति पत्र कसरी दिइयो भन्नेबारे तीन दिनभित्र जवाफ माग गरिएको थियो। आन्दोलनकारीहरूले जवाफ नपाएपछि नगरपालिकाको शिक्षा शाखा र नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको थियो।  सहमतिपत्र बदर गर्न र सहमति दिने माथि कारबाही भए मात्रै ताला खोल्ने कुरा जनाए। राजनीतिक दल, नगरपालिका कार्यालय विच बैठक सबेर निकास निकाल्ने सहमति भएको हो।