भारतबाट आएकाहरुलाई राखिँदैन क्वारेन्टिनमा
2020/08/22, 2:18
 
Korona

बाजुरामा भारतबाट आएकाहरुलाई राखिँदैन क्वारेन्टिनमा प्रकाश सिंह २०७७ भदौ ६, ०१:३७ अ+ बाजुरा: बाजुुराको बुढीगंगा नगरपालिकामा भारतबाट आएकाहरुलाई क्वारेन्टिनमा नराखेर सोझै घर पठाउने गरिएको पाइएको छ। नगरपालिकामा भारतबाट आएका ३९ जनालाई क्वारेन्टिनमा नराखेर घर पठाइएको छ। नगरपालिकाले ती स्थानीय होम क्वारेन्टिनमा बसिरहेको भनेतापनि उनीहरु अहिले गाँउ डुलिरहेका छन्। बुढीगंगा वडा नम्बर १० मा १७ जना, वडा नम्बर ९ मा २ जना, वडा नम्बर ८ मा ५ जना, वडा नम्बर ७ मा ५ जना, वडा नम्बर ६ मा १ जना, वडा नम्बर ५ मा २ जना, वडा नम्बर ४ मा ३ जना, वडा नम्बर ३ मा २ जना र वडा नम्बर २ मा १ जनालाई घर पठाएको छ। कुनै चेकजाँच नगरी घर पठाइएकाहरु गाउँगाउँ डुलिरहेकाले कोरोना भाइरसको त्रास बढेको स्थानीयले गुनासो गरेका छन्। ती घर पठाएकामध्ये गगन धामी भन्छन, ‘चेकजाँचका लागि हामी वडा कार्यलयमा गएका थियौं, तर वडाअध्यक्षले घर पठाए।’ वडा नम्बर १० का वडा अध्यक्ष धर्मराज जैशीले भने भारतबाट आफ्नो वडामा १७ जना आएका कसैलाई पनि क्वारेन्टिनमा नराखेर घर पठाएको बताएका छन्। ‘नगरपालिकाले क्वारेन्टिनमा नराख्ने भनेपछि घर पठाएका हौं’ उनले भने। उता बुढीगंगा नगरपालिकाका नगरप्रमुख दिपक बिक्रम शाहले भने माथिबाट विद्यालयलाई क्वारेन्टिाइन नबनाउने निर्देशन आएकाले घरमै होम क्वारेन्टिनमा बस्ने गरी पठाएको बताएका छन्। स्वास्थ्यको निगरानीमा होम क्वारेन्टिनमा बस्ने गरी वडालाई जिम्मा दिएको उनले बताए। बाजुराका अन्य स्थानीय तहले पनि बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा नराखेर सिधै घर पठाउने गरेका छन्। उनीहरुको कोरोना चेकजाँच र निगरानी समेत नभएको पाइएको छ।