कैलालीमा समुदायमा फैलिदै कोरोना, चार प्रतिशत सामुदायिक संक्रमण
2020/08/24, 9:25
 
corona

कैलालीमा कुनै ट्राभल हिस्ट्री नै नभएका व्यक्तिहरुमा संक्रमण देखिन थालेको छ। कैलालीमा कुल संक्रमितको झण्डै चार प्रतिशत संक्रमित समुदायस्तरमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

आइतबारसम्म कैलालीमा संक्रमण पुष्टि भएका एक हजार चार सय ५१ जना मध्ये ३ दशमलव ९९ अर्थात ५८ जनामा सामुदायिक संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए ।

उनले धनगढी उपमहानगरपालिकासहित जिल्लाका ७ स्थानीय तहमा सामुदायिक संक्रमण देखिएको बताए ।  सात वटा स्थानीय तहमा मात्र साढे चार प्रतिशत सामुदायिक संक्रमण रहेको उनले बताए। कैलालीमा सबैभन्दा धेरै धनगढी उपमहानगरपालिकामा सामुदायिक संक्रमण देखिएको छ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरका ५८ जना मध्ये धनगढी उपमहानगरपालिकामा मात्र २३ जनालाई सामुदायिक संक्रमण भएको देखिएको छ। स्वास्थ्य कार्यालयका अनुसार आइतबार थपिएका ६ सहित धनगढीमा एक सय ८२ जनामा संक्रमण पुष्टि भएकोमा २३ जनामा सामुदायिक संक्रमण देखिएको छ।

उनीहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थामा आवद्ध व्यक्ति, बैँक र निर्माण सेवाका कर्मचारी रहेका छन् । यस्तै टीकापुर नगरपालिका एक सय २० जना संक्रमित भेटिएकोमा आठ प्रतिशत अर्थात १० जनामा सामुदायिक संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ।

गोदावरी नगरपालिकामा चार सय ४६ संक्रमित भेटिएकोमा ७ जना अथात एक दशमलव ५६ प्रतिशत, गौरीगंगा नगरपालिकामा एक सय ७९ संक्रमित रहेकोमा ९ जना अथात पाँच दशमलव ०८ प्रतिशत, घोडाघोडीमा ४७ संक्रमित भेटिएकोमा ६ दशमलव ३८ अथात तीनजनामा सामुदायिक संक्रमण पुष्टि भएको छ।

दुई सय ४६ जना संक्रमित रहेको लम्कीचुहामा शून्य दशमलव ८१ प्रतिशत अर्थात दुईजनामा, कैलारी गाउँपालिकामा ४२ संक्रमित भेटिएकोमा ४ दशमलव ७६ प्रतिशत अर्थात तीन जनामा र जोशीपुरमा १४ जना संक्रमित भेटिएकोमा ७ दशमलव १४ प्रतिशत अर्थात एकजनामा सामुदायिक संक्रमण देखिएको छ।

विश्व स्वास्थ्य संगठनले आयातित संक्रमण, स्थानीय संक्रमण, सामुदायिक संक्रमण गरी र महामारी गरेर कोरोनाको संक्रमणलाई चार चरणमा विभाजन गरेको छ।

पहिलो चरणमा आयातित संक्रमण अर्थात् संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मात्र भाइरस देशमा भित्रिनु, दोस्रोमा बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसहरूमा देखिनु, तेस्रोमा संक्रमित व्यक्तिसँग सिधै सम्पर्क बिना नै सर्ने र चौथो अथवा अन्तिममा महामारीका रुपमा फैलिनुलाई लिईन्छ ।

गत चैतमै स्थानीय स्तरमा कोरोना संक्रमण देखिएको कैलालीमा अहिले समुदायमा संक्रमण देखिन थालेको हो। सेती प्रादेशिक अस्पतालका कोभिड-१९ उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले चैतमै स्थानीय संक्रमण देखिएको भएपनि अहिले सामुदायिक संक्रमण भेटिन थालेको बताए ।