कुहिएको चामल प्रकरणः कार्यपालिका बैठक सम्पन्न, आपुर्तिकर्तालाई कारवाही गर्ने निर्णय (भिडियो र प्रतिवेदन सहित)
2020/05/19, 8:20
 
dhangadhi

धनगढी उप–महानगरपालिकाको कार्यालयपालिकाको बैठकले राहतको चामल आपुर्तिकर्तालाई कारवाही गर्ने निर्णय गरेको छ । राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले तयार पारेको प्रतिवेदन विषयमा छलफल गर्दै कार्यपालिकाको वैठकले आपुर्तिकर्ता ठाकुर ट्रेड लिंकलाई कारवाही गर्ने निर्णय गरेको हो ।

राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले तीन दिन लगाएर तयार पारेको प्रतिवेदनमा  कार्यपालिकाको वैठकमा छलफल भएपछि कारवाहीको निर्णय गरिएको छानविन समितिका संयोजक मुरारी अधिकारीले जानकारी दिए । 

जेठ ३१ गते बसेको धनगढी उप–महानगरपालिका कार्यपालिका बैठकले जेठ १ गतेदेखि काम गर्ने गरी तीन दिन भित्र राहत चामलका बिषयमा उठेका कुरामा छानविन गर्न ५ सदस्यीय समिति गठन गरिएको थियो । छानविन समितिको प्रतिवेदनमो खाद्यान्न आपुर्तिकर्तालाई हदैसम्मको कारवाही गर्न सुझाव दिएको छ ।

समितिले तयार पारेको प्रतिवेदनको सुझावमा खाद्यान्न आपुर्तिकर्ताले कोरोना महामारीको समयमा पनि जनस्वास्थ्यलाई प्रतिकुल प्रभाव पार्ने खाद्यान्न आपुर्ति गरेकोले नेपालको प्रचलित कानुन अनुसार हदैसम्मको कारवाही गर्न सिफारिस गरिएको थियो । छानविन समितिले सवै विषयमा छानविन र अनुगमन गरेपछि प्रतिवेदन तयार पारिएको थियो ।

त्यस्तै ठाकुरलाई कुहिएको चामल आपुर्ति गर्ने रश्मी टेड्र कन्सर्नलाई पनि कारवाहीको दायरामा ल्याईने निर्णय गरिएको छ । आपुर्तिकर्ताको वयानका आधारमा रश्मीलाई पनि कारवाहीको दायरामा ल्याउने निर्णय कार्यपालिकाले गरेको छ । 

छानविनको प्रतिवेदनमा सम्झौता अनुसार चामल आपुर्ति नगरेको, खाद्यान्न आपुर्तिका लागि खोलिएको टेण्डरका केही वुँदाहरु पलना नगरेको, ईस्पेफिकेशन नगरिएको, खाद्यान्नको नमुना परिक्षण नगरिएको, मध्य मसिनो चामल आपुर्ति गर्नुपर्नेमा केही मोटो चामल आपुर्ति गरेको, सार्वजनिक खरिद ऐनका केही वुँदाहरु पालना नगरेको लगायत निष्कर्ष छानविन समितिले निकालेको छ । 

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका थिए । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका थिए ।

1

2
 

3