कैलालीमा निषेधाज्ञा अब के होला ? 
2020/09/02, 12:32
 
corona

कैलालीमा भदौ ४ गते मध्यरातिदेखि जारी भएको निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको छ। १९ गतेपछि निषेधाज्ञालाई खुकुलो पार्ने स्थानीय प्रशासनले तयारी गरेको हो ।  जिल्ला प्रशासन कार्यालयले १९ गतेपछि कसरी जाने भन्ने विषयमा सबै पक्षसंग छलफल भईरहेको बताउँदै केही सेवा बाहेक अन्य सेवा सुचारु गर्ने तयारी भएको जनाएको छ । 

नयाँ मोडलिटीबारे उद्योग वाणिज्य संघ, स्थानीय तह लगायतसंग छलफल जारी रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । तर निषेधाज्ञालाई यथावत राख्ने वा अन्य कुनै मोडालिटी अपनाउने भन्ने विषयमा अहिले नै कुनै निर्णय नभएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए । १९ गतेपछि जिल्लामा व्यापार व्यवसाय सञ्चालन गर्न दिने तयारी भएको छ ।

भीडभाड हुने सरकारी कार्यालयमा सेवा प्रवाहलाई व्यवस्थीत कसरी बनाउने भन्ने विषयमा पनि छलफल भईरहेको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण बढेपछि प्रमुख जिल्ला अधिकारीले भदौ ४ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका थिए । सुरुमा १० दिनका लागि निषेधाज्ञा जारी भएकोमा पछि पाँच दिन थपिएको थियो ।