सुदूरपश्चिममा दैनिक संक्रमणसँगै लक्षण भएका संक्रमितको संख्या समेत बढ्दै जान थालेको छ । स्वास्थ्य मन्त्रालयले समान्य लक्षण भएका, मध्यम र गम्भीर प्रकृतिका संक्रमितको पहिचान गरी सोही अनुसार उपचारको प्रबन्ध मिलाउने व्यवस्था मिलाउने गरी छुट्टै मापदण्ड बनाएको छ । संक्रमण पुष्टि भएका तर कुनै लक्षण नभएकाहरुलाई भने अस्पतालले भर्ना नलिने भएकाले सेल्फ आईसोलेसनमै बस्ने व्यवस्था मिलाउने भनेको छ ।
प्रदेश सरकारले अहिलेकै अवस्थामा संक्रमण तिव्र हुँदै गएमा जटिल स्थितिको सामाना गर्नुपर्ने अवस्था आउने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न आग्रह गरेको छ । अस्पतालहरुलाई थप आईसोलेसनका शैया व्यवस्थापन गर्न निर्देशन दिईएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । उनले संक्रमण भयावह बनेपछि लक्षणका आधारमा उपचार सेवा प्रदान गर्ने गरी व्यवस्थापन भईरहेको बताए ।
कोरोना भाईरसको तिव्र संक्रमणलाई रोक्न व्यक्ति व्यक्ति सचेत भएर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु नै सबैभन्दा उचित विकल्प भएको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । अत्यावश्यक काम बाहेक आवतजावत नगर्ने, घर बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने सुझाव दिईएको छ ।
दैनिक कोरोनाको संक्रमण बृद्धि हुदै गएको सुदूरपश्चिम प्रदेशमा अस्पताल भर्ना हुने संक्रमितको संख्या समेत बृद्धि हुन थालेको छ । तीन सय १० वटा आईसोलेसन वेड रहेको सुदूरपश्चिममा लक्षण भएका एक सय दुई जनालाई भर्ना गरिएको छ । उनीहरु मध्ये सबैभन्दा बढि सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा ३१ जनाको उपचारत छन् । जसमा ३० जनामा समान्य खालको लक्षण र एक जना कडा खालको लक्षण भएका संक्रमित रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
४८ शैयाको आईसोलेसन रहेकोमा सेतीमा अहिलेकै गतीमा संक्रमित बढ्दै गएमा थप कोरोना संक्रमितको व्यवस्थापन गर्न समस्या हुने देखिएको छ । यद्यपी अस्पतालले सोही अनुसार थप शैया व्यवस्थापन गरिदै लैजाने वा संक्रमितको अवस्था हेरेर भर्ना लिने रणनीति अपनाउने तयारीमा रहेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् । सेतीपछि कैलालीकै टीकापुर अस्पतालमा स्थापना गरिएको आईसोलेसनमा ३० जना संक्रमितको उपचार भईरहेको छ ।
कञ्चनपुरको महाकाली अस्पतालमा २४ जना, जिल्ला अस्पताल अछाममा १० जना, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालको आईसोलेसनमा दुई÷दुई जना संक्रमितको उपचार भईरहेको छ । तर संक्रमितको संख्या बढ्दै गएका अहिले स्थापना गरिएका आईसोलेसनका शैयाले थेक्न नसक्ने देखिएको छ । त्यसका लागि थप आईसोलेसन विस्तार गर्नुका साथै संक्रमितको अवस्थाका आधारमा भर्ना लिनुको विकल्प नहुने टीकापुर अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले बताए। उनले सरकारले निर्धारण गरेको लक्षण भएका त्यसमा पनि गम्भीर प्रकृति संक्रमितलाई मात्र अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।