सुदूरपश्चिममा सरकारले कोरोना समुदायमा फैलिएको बारेमा अध्ययन गर्ने
2020/09/02, 4:15
 
korona

सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको छ वा छैन् भन्नेबारेमा अध्ययन गर्ने भएको छ। कोभिड–१९ को संक्रमण सबै समूहका व्यक्तिमा देखिरहेको र ट्राभल हिस्ट्री नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो।

त्यस्को अध्ययन सुदूरपश्चिममा पनि हुनेछ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने प्रदेशमा समुदायस्तरमै कोरोना फैलिएको भन्न नमिल्ने बताए।

‘सुदूरपश्चिम अहिले संक्रमणको दोस्रो चरणमा रहेको छ। सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ,’ उनले भने, ‘ट्राभल हिस्ट्री नै नभएका व्यक्तिमा संक्रमण पुष्टि भएपनि त्यस्लाई समुदायमा संक्रमण फैलिएको भनिदैन्।’

उनका अनुसार संक्रमण कसरी फैलियो भन्ने विषयमा स्रोत नै नखुलेपछि समुदायमा कोरोना फैलिएको पुष्टि हुन्छ। समुदायमा संक्रमण फैलिएपछि त्यस्लाई संक्रमणको तेस्रो चरण भनिन्छ।

यस्तै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सुदूरपश्चिम प्रदेशमा संक्रमण बढी फैलिएका ठाउँमा छ हप्तादेखि कतै नगएका व्यक्तिको रगत सङ्कलन गर्दै समुदायस्तरमा फैलिएको छ वा छैन् भन्ने विषयमा अध्ययन गर्ने जनाएको छ।

महिला, पुरुष, बालबालिका र वृद्धा सबैको एन्टिबडी परीक्षण गरिनेछ। प्रदेशबाट सङ्कलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ। 

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले अवको एक हप्तामा प्रदेशमा रगतको नमूना सङ्कलन गर्नका लागि टोली आउने बताए। उनका अनुसार करिब एक महिनाभित्र समुदायस्तरमा फैलिएको हो वा होइन भनेर अध्ययन पूरा गरिनेछ। 

गत चैतमा विदेशबाट धनगढी फर्किएका एक जनामा व्यक्तिबाट अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि स्वास्थ्य मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो।