सुदूरपश्चिममा ६३६८३ जनाको कोरोना परीक्षण, ६०५६ जनामा संक्रमण पुष्टि
2020/09/03, 11:58
 
corona

सुदूरपश्चिम प्रदेशमा साढे ६३ हजार बढिको कोरोना परीक्षण गरिएको छ । प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ६३ हजार ६ सय ८३ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

धनगढी प्रयोगशाला मार्फत ३३ हजार दुई सय १०, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशाला मार्फत १२ हजार सात सय ८७ र डोटी जिल्ला अस्पतालको प्रयोगशाला मार्फत एक हजार एक सय ८४ जनाको कोरोना परीक्षण भएको छ । 

निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ६५ हजार दुई सय ४१ जनाको स्वाब संकलन गरिएकोमा एक हजार पाँच सय ५८ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरिएका  झण्डै १० प्रतिशत अर्थात ६ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ । 

सबैभन्दा बढी कैलालीमा एक हजार ६ सय ४९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा नौ सय ९४, अछाममा नौ सय १६, कञ्चनपुरमा ६ सय ८४ र बाजुरामा ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बझाङका चार सय ३५, बैतडीका तीन सय ६७, डडेल्धुराका तीन सय ३२ र दार्चुलाका ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका ५ हजारले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ ।