सुदूरपश्चिम प्रदेशमा आज ६१ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा आज ६१ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ८५ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण देखिएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको बताए।
वडा नम्वर ५ का १५ र अन्य वडा नखुलेका १३ गरी २८ जनामा संक्रमण देखिएको उनले बताए। उनका अनुसार कैलालीको गोदावरीका ६ जना, लम्की चुहाका पाँच जना, बर्दगोरीका चार जना, भजनीका दुई जना, मोहन्याल, जानकी र कैलारीका एक÷एक जना, कञ्चनपुरको बेदकोटका एक जना र ठेगाना नखुलेका एक जनमा संक्रमण पुष्टि भएको छ।
उता डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय ४४ जनाको परीक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा प्रयोगशालाका ईन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।
उनका अनुसार डोटीको जोरायल गाउँपालिकाका चार जना, अछामको मेल्लेख गाउँपालिकाका एक जना, चौरपाटी गाउँपालिकाका एक जना, बझाङको बुङ्गल नगरपालिकाका एक र जिल्ला प्रहरी कार्यालय दार्चुलाका एक जना प्रहरीमा संक्रमण देखिएको हो।
यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा विहिबार दुई सय १० जनाको कोरोना परीक्षण गरिएको छ। प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार बुधवार दुई सय १० जनाको कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो।
उनले अछामको चौरपाटी गाउँपालिका ४ की एक महिला र सोही गाउँपालिका वडा नम्बर २ र ७ का एक÷एक जना पुरुषमा संक्रमण पुष्टि भएको बताए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार एक सय २७ पुगेको छ। संक्रमण पुष्टि भएका पाँच हजारले कोरोना जितेको दावी गरिएको छ भने १४ जना संक्रमितको मृत्यु भईसकेको छ।