सुदूरपश्चिमका थप एक लाखको कोरोना परीक्षण गर्ने तयारी
2020/09/04, 12:39
 
korona

सुदूरपश्चिममा थप एक लाखको कोरोना परीक्षण गर्ने गरी तयारी थालिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले ९ वटै जिल्लामा थप एक लाखको कोरोना परीक्षण गर्ने गरी तयारी थालिएको बताए।

उनले संघिय सरकारसँगको समन्वयमा परीक्षणलाई तिव्र बनाउन आवश्यक तयारी थालिएको जानकारी दिए। कार्कीले अहिले सामुदायिक संक्रमण फैलिएको आशंका बढेकाले दायरा बढाउँदै समुदाय स्तरमै गएर परीक्षण गरिने बताए।

स्वास्थ्य निर्देशनालयलाई थप एक लाखको परीक्षण गर्ने गरी योजना बनाउन निर्देशन दिईसकिएको उनी बताउँछन्। कार्कीका अनुसार एक लाखको परीक्षण गर्दा झण्डै १८ करोड खर्च हुने अनुमान गरिएको छ। उक्त बजेट कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल जारी राखिएको छ।

सुदूरपश्चिममा बीहिबार सम्म ६४ हजार ६ सय २५ जनाको कोरोना परीक्षण भएको छ। सबैभन्दा बढि सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट ३३ हजार ६ सय ९८ जनाको परीक्षण गरिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १६ हजार तीन सय १८, डडेल्धुरा प्रयोगशालाबाट १३ हजार ३१, डोटी अस्पताल प्रयोगशालाबाट एक हजार तीन सय ९८ र प्रदेश बाहिरका अन्य प्रयोगशालामा एक सय ८४ जनाको परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

उनीहरु मध्ये झण्डै १० प्रतिशत, ६ हजार एक सय २७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका पाँच हजारले कोरोना जितेको दावी गरिएको छ भने १४ जना संक्रमितको मृत्यु भईसकेको छ।