कर्णाली करिडोरमा बाढी र पहिरोले क्षति गरेको सडकको मर्मत सुरु
2020/09/08, 3:11
 
sadak

कर्णाली करिडोरमा बाढी र पहिरोले क्षति गरेका ठाउँमा निर्माण कार्यदलले मर्मतको काम सुरु गरेको छ ।  सुर्खेतबाट कालीकोट, बाजुरा हुँदै हुम्ला जाने सडक कर्णाली करिडोर हो । पहिरोका कारण कालीकोट खण्डमा सबैभन्दा बढी क्षति गरेको छ ।

कालीकोटको सान्नीघाटमा एक सय १४ मिटर बढी सडकखण्ड बगेको छ । अहिले बाजुराको काब्रीसम्मको पहिरो पन्छाएर आंशिक रुपमा गाडी चलाउने निर्माण कार्यदलले जनाएको छ ।  आर्थिक वर्ष २०६५-६६ देखि ठेक्का प्रक्रियाबाट थालिएको करिडोर निर्माणको काममा आशालाग्दो प्रगति नभएपछि २०७१ चैतदेखि नेपाली सेनालाई जिम्मा दिएको थियो । नेपाली सेनाले करिडोर अन्तर्गत बाजुराको भू-भाग छिचोलेर हुम्लाको बालकुमारसम्म गाडी चल्न सुरु भएको छ ।

 करिडोर अन्तर्गत हुम्लाको सदरमुकाम सिमीकोटसम्मको लम्बाइ १ सय ९६ किलोमिटरमा, ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र १ सय १३ किलोमिटर हुम्ला खण्ड रहेको छ । नेपाली सेनाले हुम्लाको सर्केगाडसम्म निर्माणको जिम्मा पाएको छ । यसैबीच साँफे बगर-मार्तडी सडकखण्डमा सडक विभागले काम सुरु गरेको छ तर बेलिब्रिज बगाएको र धेरै ठाउँमा बाटो बिग्रेका कारण अझै समय लाग्ने साँफे बगर-मार्तडी सडक डिभिजन कार्यालयका इन्जिनियर दमन बिष्टले बताए । साँफेबगर-मार्तडी सडकखण्ड २ महिनादेखि बन्द छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड प्रयास गर्दागर्दै पनि खुलाउन नसकिएको सडक विभागले जनाएको छ ।