सुदूरपश्चिममा थप ३४ जना डिस्चार्ज, कोरोना मुक्त हुनेको संख्या ५३१२ पुग्यो
2020/09/08, 9:11
 
corona

सुदूरपश्चिम प्रदेशमा थप ३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले मंगलवार बझाङबाट २४, कञ्चनपुरबाट चार, दार्चुलाका चार र सेती प्रादेशिक अस्पतालबाट दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।

योसंगै प्रदेशमा पाँच हजार तीन सय १२ संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार चार सय ४२ जना निको भएर घर फर्किएका छन् । डोटीका नौँ सय चार, अछामका आँठ सय ४८, कञ्चनपुरका ६ सय ५३ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ४२, बैतडीका तीन सय २५, डडेल्धुराका तीन सय एक र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार तीन सय ४२ पुगेको छ । संक्रमण पुष्टि भएका १४ जना संक्रमितको मृत्यु भईसकेको छ ।