आफ्नै बलबुतामा बनेका बैंकरः जसले वित्तिय सुगन्ध फैलाए 
2020/09/09, 11:34
 
mukunda bhatta

सीताराम ओझा- जुनसुकै कठिन अवस्थामा पनि मुस्कुराई रहने, कहिले पनि नरिसाउने र हरेक समस्याहरुलाई आन्दनमयी रुपमा हल गर्न माहिर छन् मुकुन्द भट्ट । उमेरले ४० बर्ष । पेशाले बैंकर । डोटीको गडसेरा पुख्र्यौली घर भएका मुकुन्दको संक्षिप्त र आजभोलीको पछिल्लो परिचय हो मुकुन्दको । उनी बैंकर बनेको ११ बर्ष भएको छ । बैंकर भएर सुदुरपश्चिमको नेतृत्व लिईरहेका विगत ५ बर्षदेखि उनी ।

1

जनता वैंकको प्रदेश प्रमुख भएर काम गरिरहेको अववस्थामा ग्लोबल आईएमई बैंकमा मर्ज भएपछि उनलाई हालसालै प्रदेश प्रमुखको जिम्मेवारी दिईएको हो । बैक मर्ज हुँदाको बखत सेकेन्ड म्यान थिए उनी । उनले जनता बैंकमा गरेको कामले नै बैंक मर्ज भएपछि प्रदेशको फष्ट म्यानको जिम्मेवारी दिईएको हो । जुन काममा लाग्यो त्यो काममा दिलोज्यान दिएर लाग्ने उनको स्वभाव हो । जुनसुकै काम गर्न लाज मान्दैनन् । अप्ठेरो ठान्दैनन् । कामलाई माया गर्छन् ।

1

पदलाई सम्मान गर्छन् । ईमान्दारितालाई मुलमन्त्र बनाएर लाग्ने उनको काम प्रतिको लगाव देखेर विभिन्न पदहरुमा बैकमा कार्यरत कर्मचारीहरु पनि छक्क पर्छन् । उनी कसैको रुप रंगभन्दा पनि काम र काम गर्ने ढंगलाई मान्छन् । उनले सुदुरपश्चिमका १९ शाखामा एक सय ७० जना कर्मचारीहरुको नेतृत्व गरेर सुदुरपश्चिम प्रदेश हाकिरहेका छन् । प्रदेशमा झण्डै एक लाख ३५ हजार ग्राहकहरुलाई सेवा दिईरहेका छन् । ग्राहकहरुको सेवा र कर्मचारीहरुको टीम वर्कलाइ पहिलो प्राथमिकतामा राखेर काम गर्ने शैलीका कारण उनी ग्राहक र कर्मचारी बीच लोकप्रिय छन् । 

1

४० बर्षीय मुकुन्द आफ्नै बलबुता र मेहनतले बैंकर बनेका हुन् । मध्यम वर्गीय परिवारमा जन्मिएका उनको वाल्यकाल गडसेरामै वित्यो । नवोदय माविमा पढ्दै गर्दा पढाई र घरायसी काम गर्नुपथ्र्यो । विद्यालय जाने समय वाहेकको समयमा गाईभैसी चराउन जंगल जाने, खेतीपातीको काम गर्ने र घरायसी काम गर्नुपर्ने । ती काम गर्दा उनको साथमा किताब कहिल्यै छुटेन् । वाल्यकालमा गडसेराको आकाश भएर हवाई जहाज चल्थ्यो । वझाङ र वाजुरामा हुने नियमित उडानले प्रायः आकाशमा देखिने चिलगाडीका कारण उनी पछि गएर प्लेन चलाउने पाईट बन्छु भन्ने सोच्थे ।

2

गाईभैसी चराउन लेक गएका वेला कयौ पटक पशुहरुसँग आफु पनि कुहिरोभित्र हराएर खोज्नै धौ–धौ भएका घटनाहरु धेरै भएका छन् उनीसँग । पढाईमा अब्बल मुकुन्दले विद्यालयमा पढ्दा कहिले पनि शिक्षकको गाली खाएनन् । सधैं शिक्षकहरुका प्रिय विद्यार्थीको रुपमा उच्च माया पाए । जता गए पनि उनी किताब बोकेरै जान्थे । समय मिल्यो की किताब पढ्न थालिहाल्थे । 

1

सदरमुकाम जानका लागि ८ घण्टाको पैदल दुरी कयौं पटक पार गरेका छन् उनले । विद्यालय स्तरीय प्रतियोगिताहरु जस्तै हाजिरीजवाफ, वक्तृत्वकला लगायतका बौद्धिक खेलहरुमा विद्यालयकै नेतृत्व गर्थे उनी । ती प्रतियोगितामा कहिल्यै पनि रित्तो हात फर्किनु परेन् । प्रथम, द्धितीय र तृतीय भएर मात्रै आउँथे उनी । २०५४ सालमा नवोदयबाट उनी लगायत उनको व्याचले एसएलसी दियो । विद्यालय २०५३ सालको एसएलसीमा निल भएको थियो । एक जना पनि पास भएका थिएनन् । तर २०५४ सालको एसएलसीमा विद्यालयको अप्रत्यासित नतिजा आयो । मुकुन्दले सामुदायिक विद्यालय टप गरे । पाँच सय १८ नम्बर ल्याएका उनको यो रेकर्ड गडसेरा क्षेत्रमा नमुनाको रुपमा रहेको छ । उनका चार जना साथीहरु पनि फष्ट डिभिजनमा पास भए ।

2

कक्षा ६ मा पढ्दा ६० जना थिए । एसएलसी दिदा चार जना मात्रै पुगेका थिए । गडसेराको पानी पिएर एसएलसीमा उत्कृष्ट नतिजा ल्याएका उनलाई वन विज्ञान वा साईन्स पढ्न धेरै जनाले सुझाव दिए । तर आर्थिक अवस्थाले उनको त्यो ईच्छा पुरा भएन् । यो वेला नेपालको जुनसुकै क्याम्पसमा पनि छात्रवृतिमा पढ्न पाउने अवस्था थियो । तर पढ्नका लागि पढाई वाहेकको अन्य चाजोपाजो मिलाउन आर्थिक अवस्थाले साथ नदिएपछि ईन्टर पढ्नका लागि धनगढी आए ।

1

कैलाली वहुमुखी क्याम्पसमा भर्ना भए । मामाघरमा वसेर पढे । राम्रो नम्बर भएका कारण उनले छात्रवृति पाए । बीबीएस काकाको घरमा वसेर पढे । स्नातक पढ्दा पनि शुल्क तिर्नु परेन् छात्रवृतिमै पढे । ईन्टर पास गरेपछि उच्च शिक्षा पढ्नका लागि काम गर्नुपर्ने अवस्था आयो । सोही सिलसिलामा कैलाली वहुमुखी क्याम्पसमा आफैंलाई पढाउने प्राध्यापकहरुसँग मिलेर विद्यालय खोल्ने कुरा भयो ।

1

सानैदेखि सामाजिक काममा सक्रिय उनले क्लब खोलेका थिए । गुणस्तरीय शिक्षा दिनका लागि द्धन्द्धकालमा बन्द हुने अवस्थामा पुगेको कैलाली विद्यालय निकेतनलाई पुर्नजन्म दिए । जुन स्कुल आजको दिनसम्म पनि सञ्चालन भईरहेको छ । एक बर्ष जति विद्यालयमा पढाउने र आफु स्नातक पढे । सोही दौरानमा केही रकम बचाएका थिए विद्यार्थीहरुलाई पढाएर । स्नातक पनि पास भए । पढाउँदा बचेको रकम लिएर स्नाकोत्तर गर्नका लागि २०६० सालतिर काठमाण्डौं हानिए । काठमाण्डौंमा सुदुरपश्चिमका विभिन्न शिक्षा विदसँग भेट भयो । सो टीम क्याम्पस र विद्यालय सञ्चालन गर्नका लागि प्रोफेशनल एजुकेटर्स लिमिटेड नामक संस्था खोलेका थिए । त्यसमा आवद्ध भए उनी ।

1

सोही संस्थाद्धारा सञ्चालित ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एमबीएसको पढाई र सोही संस्थाले चलाएका विद्यालयमा शिक्षकको रुपमा काम गरे । स्नातकसम्म सरकारी क्याम्पसमा पढेका उनलाई स्नाकोत्तर निजि कलेजबाट गर्ने रहर जाग्यो । तर समस्या पढ्नकै लागि आवश्यक पर्ने पैसा थिएन् । ग्लोबल कलेजमा भर्ना हुनका लागि उनले आफ्ना सर्टिफिकेटहरु धितो राखेका थिए । स्नाकोत्तर सकिएको झण्डै तीन बर्षपछि पढ्नलाई लागेको रकम तिरेर आफ्ना सर्टिफिकेटहरु फिर्ता ल्याएका थिए । 

1

काठमाण्डौंको वसाईका क्रममा विज्ञहरुसँगको सम्बन्ध र भेटघाट बाक्लिदै गयो । पढ्ने र पढाउने कामसँगै भयो । तीन बर्षसम्म पढाए काठमाण्डौंमा । स्नाकोत्तर पढ्ने वेलामा कलेजका प्रिन्सिपल थिए नेपाल राष्ट्र बैंकका पुर्व गर्भनर डाक्टर तिलक रावल । सोही क्रममा आफैंले पढाउने गुरुसँग जोडिने मौका मिल्यो । एमबीएस उत्तिर्ण भए । उनका धेरै साथीहरु बैंकतिर ईन्टरनरसीप गर्न गईरहेको वेला उनलाई भने केही नयाँ काम गर्नुपर्छ भन्ने लाग्यो । 

1

के गर्ने भनेर साथीभाईसँग सल्लाह गरे । सँगै विभिन्न विश्वविद्यालयमा पढेका र कर्पोरेट हाउसहरुमा काम गरेका झण्डै एक सय जना मिलेर सहकारी खोल्ने निर्णयमा पुगे उनीहरु । बैंकिङ र वित्तिय पहुँच र वित्तिय साक्षरता पुगेको थिएन् धेरै ठाउँमा । अझ सुदुरपश्चिममा त उनी पढ्ने समयमा धेरै बैंक र वित्तिय संस्था पुग्नै सकेका थिएनन् । त्यही सोचले जन्मिएको हो सहकारी । भक्तपुरमा सहकारी खोले । महाप्रबन्धकको रुपमा काम गरे । धितो नभएकाहरुलाई विना धितो ऋण लिने व्यवस्था गरे । त्यसले आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गहरुको जीवनमा आशाका किरणहरु फैलिए ।

1

अव जन्मभुमीमा पनि केही काम गर्नुपर्छ भनेर उनले गडसेरा लगायत कैलाली र डोटीका मानिसहरुलाई सहकारी सेवा विस्तारका लागि पहल गरे । सम्झाए बुझाए । त्यसपछि धनगढी र डोटीमा सहकारी स्थापना भए । त्यो वेला बैंकहरुले रकमान्तर सेवा नदिएका वेला डोटी र कैलालीबाट सहकारी मार्फत काठमाण्डौंमा रमान्तरको सेवा दिएको थियो मुकुन्दले परिकल्पना गरेको सहकारीले ।

1

दुई बर्ष जति काम गरे सहकारीमा । कैलाली र डोटीमा उनकै पहलमा स्थापना भएका सहकारीहरु आर्थिक रुपमा सक्षम भई अत्याधुनिक आफ्नै भवनबाट सेवा दिईरहेका छन् । उनले स्थापना गरेका सहकारीहरुमा हाल झण्डै दुई सय जना कर्मचारीहरुले रोजगारी पाएका छन् । तीन हजारभन्दा वढी सेवाग्राहीहरुले विना धितो ऋण पाएर आफ्नो व्यवसाय विस्तार गरी आर्थिकस्तर उकासेका छन् । 

1

सहकारीलाई सिमित क्षेत्र र परिधिभित्र मात्रै काम गर्ने अधिकार थियो । उनलाई सहकारी क्षेत्र आफ्ना लागि साँघुरो जस्तो लाग्यो । सहकारीलाई सकारात्मक दिशामा लगाएपछि उनलाई आफ्नै ठाउँमा केही गर्ने ईच्छा जाग्यो । केही नसोचेर धनगढी फर्किए । कञ्चन डेभलपमेन्ट बैंकमा शाखा प्रबन्धक भएर काम थाले ।

2

कञ्चनमा काम गर्दा वित्तिय साक्षरता र सामाजिक कार्यलाई वढी प्राथमिकता दिए । बैक तथा वित्तिय संस्थाहरुबाट कस्तो सहयोग चाहन्छ समाजले भन्ने कुराको अध्ययन पनि गरे । उनले साढे तीन बर्ष त्यहाँ काम गर्दा धेरै सामाजिक कामहरु गरे । कञ्चनपछि सेकेन्ड म्यान भएर लक्ष्मी बैंकमा गए उनी । विकास बैंकबाट वाणिज्य बैंकको यात्रा थाले । एक बर्ष जति काम गरे लक्ष्मी बैंकमा । त्यसपछि उनको यात्रा लम्बियो सिद्धार्थ बैंकतिर ।

2

साढे दुई बर्ष काम गरे सिद्धार्थ बैंकमा । आफ्नो क्षमता र दक्षता देखाए । उत्कृष्ट अवस्थामा पुराए बैंकलाई । उनी जुन जुन शाखामा आबद्ध भए ती शाखाहरुलाई व्यवसाय विस्तार र कम्प्लाईन्समा अब्बल सावित गरे । त्यसपछि जनता बैंकमा आबद्ध भएपछि धनगढी शाखालाई थप उचाईमा पुराए । शाखाको उच्च व्यवसाय विस्तार गरेपछि बैंक व्यवस्थापनले उनलाई तत्कालीन समयमा नेपालगंज क्षेत्र अन्तर्गत सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ को दाङसम्मका २८ वटा शाखाहरु हेर्ने गरी डेपुुटी चिफ अफ रिजनको जिम्मेवारी दिएको थियो ।

2

जनता बैंकमा हुँदा सामाजिक कार्यहरुलाई निरन्तरता दिईरहे । उनकै योजना र पहलमा कैलालीको हसुलियामा दुई हजार जनाको आँखाको जाँच र निशुल्क शल्यक्रिया बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको थियो । जनता बैंक र मर्जपछि ग्लोबल आईएमई बैंकमा विगत पाँच बर्ष काम गरिरहेका छन् मुकुन्द भट्ट प्रदेश प्रवन्धक भएर । 

1

सहकारी, विकास बैंक हुदैं वाणिज्य बैंकसम्मको करियरमा धेरै कुरा सिके । धेरै कठिनाईहरु भोगे । कयौं समस्याहरु हल गरे । जनताका बीचमा वित्तिय सुगन्ध फैलाए । सबैका समस्याहरु सुने । समाधान गरे । तर बैंकरका पनि समस्या हुन्छन् । उनीहरुका पनि रहर र चाहना हुन्छन् त्यसतर्फ कसैको चासो देखेनन् उनले । अनि सामाजिक उत्तरदायित्वका कामहरुलाई अझ वृहत रुपमा गर्न धनगढीमा रहेका सबै बैंक तथा वित्तिय संस्थाहरुलाई समेटेर नयाँ कामको थालनी गरे । धनगढीमा प्रायः सबै बैंक तथा वित्तिय संस्थाहरुका शाखा खुलिसकेका थिए । कुन बैंकमा को आयो को गयो कसैलाई पत्तो नहुने । बैंकर बैंकर बिच पनि चिनजान नहुने । कुनै निकायसँग बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट कस्ले नेतृत्व लिने भन्ने अन्यौल देखे ।

2

बैंकर र बैंकका कर्मचारीहरुबीच पारस्पारिक सहयोग, स्वच्छ प्रतिस्पर्धा, आपसी एकता र हित, क्षमता अभिबृद्धि र सामाजिक उत्तरदायित्वका कामहरुको लागि बैंकर्स क्लब खोल्ने अभियानको सुरुवात गरे । आफैं विधान बनाए । सबै बैंकरलाई आबद्ध गराए र बैंकर्स क्लब धनगढीको स्थापनाको अभियन्ता बने । मुकुन्दले सुरु गरेको बैंकर्स क्लबको अवधारणा आज देशभरी फैलिएको छ । बैंकर्स क्लब धनगढीले विभिन्न सामाजिक उत्तरदायित्व, क्षमता अभिबृद्धि, खेलकुद तथा मनोरञ्जनका कार्यक्रमहरु गर्दै आईरहेको छ ।

2

उनले बैंकर्स क्लब धनगढी सुरु गर्दा तदर्थ समितिका अध्यक्ष थिए हेमराज सन्ज्याल । आफु थिए सचिव । त्यसपछि सतिश सिंह, तेजराज तिमिल्सिना, दीपक जोशी, टेकराज भट्ट, धर्म विष्टले नेतृत्व लिएका छन् । मुकुन्द हाल वरिष्ठ उपाध्यक्ष छन् । अवको कार्यकालको अध्यक्ष बन्दैछन् । धेरै बर्ष सचिवमै बसेर काम गरे । यसका अलावा उनी नेपाल व्यवस्थापन संघ सुदुरपश्चिम च्याप्टरको सदस्य पनि रहेका छन् । 

1

जागीर सुरु गरेसँगै मुकुन्दको पारिवारिक जीवन पनि अगाडी वढ्यो । २०६७ सालमा पढाईमा अब्बल रहेकी जागृति भट्टसँग बैवाहिक बंन्धनमा बाँधिए । उनीसँग एक छोरी छिन् । सानो छोरीलाई अर्को बच्चासँग छोडेर बीबीएस र एमबीएस पढिन् जागृतिले । छोरीसँग कहिल्यै सम्झौता गरिएन् । मुकुन्द धनगढी, श्रीमति र छोरी काठमाण्डौंमा रहेकै वेला नाकावन्दी र भुकम्पको सन्त्रास थियो । त्यो वेला पनि श्रीमति र छोरीलाई छोडेर आफ्नै बैंकको कर्ममा तल्लीन थिए उनी । श्रीमतिले छोरी हुर्काउने कामसँगै आफ्नो शिक्षाको स्नाकोत्तर डिग्री ग्लोबल कलेज अफ म्यानेजमेन्टबाट प्रथम श्रेणीमा पास गरिन् ।

2

अहिले उनी पनि जागीरे भएकी छिन् राष्ट्रिय वाणिज्य बैंकमा । झण्डै दुई बर्ष भयो बैंकको जागीर सुरु गरेको । श्रीमान निजि बैंकमा श्रीमति सरकारी बैंकमा अर्थात बैंकर दम्पति । बैंकर दम्पतिको कथा पनि बेग्लै होला । सामान्य किसानको छोरा, बुबा पुजारी, दुई दाई र चार दिदी बहिनको परिवार । दाईले आफ्नै व्यवसाय गरिरहेका छन् धनगढीमा । चार दिदी वहिनीहरुको विवाहवारी भएर उनीहरु आफ्नो घर परिवार चलाईरहेका छन् । बुबा आमा अधिकांश समय गडसेरा र कहिलेकाही धनगढी हुन्छन् । धार्मिक पुजाआजा गर्नुपर्ने भएकोले धेरै समय उतै बसाई हुन्छ उनका बुबाको । बुबाकै साथमा रहन्छिन आमा पनि । 

1

मुकुन्द भट्ट सामाजिक काम भनेपछि जहिले पनि हुरुक्कै हुने । आफु मात्रै बन्नु हुदैन्, अरुलाई पनि बनाउनुपर्छ भन्ने उनको सोच छ । आफ्नो कामलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार नागरिकको रुपमा समाज बनाउन लाग्नुपर्ने उनको सोच छ । उनी त्यसका लागि कहिले पनि पछि हटेन, हटेका छैनन्, हट्ने पनि छैनन् । मुकुन्द भट्ट आजको दिनसम्म आईपुग्दा गरेपछि हुन्छ भन्नेमा ढुक्क छन् । जसको उदाहरण स्वयम उनी आफै हुन् । अधिकांश उनीसँग पढेकाहरु भारतमा आफ्नो श्रम सस्तोमा बेच्न बाध्य भएका छन् । कोही घरमै बसेर खेतीपाती गरिरहेका छन् । उनीहरुको जीवनस्तरमा अहिलेसम्म पनि परिवर्तन आउन सकेको छैन् । त्यो अभाव र संघर्षको बीचबाट समाजमा उनी फरक पहिचान बनाउन सफल भएका छन् ।

1

विद्यालयमा पढ्दा कक्षामा सधैं प्रथम र कक्षा ५ देखि एसएलसीसम्म सधैं विद्यालय प्रथम भएका मुकुन्द आफ्नै मेहनत परिश्रम र लगानीको नतिजाले आजको दिनसम्म आईपुगेको मान्छन् । एसएलसीपछि स्नाकोत्तर गर्दासम्म पनि आफुभन्दा अब्बल विद्यार्थीहरु संगत गर्थे । उनीहरुसँग धेरै कुराहरु बुझ्थे । त्यसको विश्लेषण गर्थे अनि आफुले के गर्न सकिन्छ भनेर अगाडी सर्थे । यातायातको पहुँच थिएन् । संचारका माध्यमहरु थिएनन् । एउटा मात्रै रेडियो नेपाल थियो । त्यो पनि साँझ विहान । तालिका बनाएर सानैदेखि पढ्ने बानी बनाए । त्यसमा सफल पनि भए उनी । ती दिनहरु अहिले पनि याद छन् उनलाई । विद्यालयमा कहिले पनि पुरै किताब पढाई भएन् । आधा कोर्स मात्रै पढाई हुन्थ्यो ।

1

1

बाँकी आफै पढेर परिक्षा दिनुपथ्र्यो । शिक्षकहरु बाहिरबाट आउँथे । खेतीपाती गर्ने र गाईभैसी चराउने काम नगरि हुदै हुन्थेन् । त्यसका वाबजुत पनि मुकुन्द आफ्नै मेहनत परिश्रम र लगनसीलका कारण आजको उचाईसम्म पुगेका हुन भन्नेमा दुई मत छैन् । ईमान्दारिता, मेहनत र कडा परिश्रम, आर्थिक अनुशासन, निरन्तरता, सरल जीवशैली, सिक्ने उत्सुकता र अभ्यास, समय व्यवस्थापन र स्रोतको अधिकत उपयोग, जीवन प्रति सकारात्मक सोच र सहयोगी व्यवहार, कामको निरन्तरता, जति धेरै सरल उति धेरै सहज जीवनमा विश्वास गर्ने बानीका कारण आज उनी यहासम्म पुगेका हुन् । अरुलाई पनि यी सुत्रहरुको पालना गर्न सुझाव दिन्छन् उनी । उनको आगामी दिनमा अझैं उत्तरोत्तर प्रगतिको कामना । 

2

2