सुदूरपश्चिम प्रदेशमा थप ८१ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार अछामका ४५ जना, बझाङबाट २२, डडेल्धुराका ६ जना, कैलालीका तीन जना, डोटीका तीन जना र कञ्चनपुरबाट दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।
योसंगै प्रदेशमा पाँच हजार तीन सय ९३ संक्रमितले कोरोना जितेका छन । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार चार सय ४५ जना निको भएर घर फर्किएका छन् ।
यस्तै डोटीका नौँ सय सात, अछामका आँठ सय ९३, कञ्चनपुरका ६ सय ६५ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।
बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ६४, बैतडीका तीन सय २५, डडेल्धुराका तीन सय सात र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन । सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार तीन सय १८ पुगेको छ । उनीहरु मध्ये पाँच हजार तीन सय बढिले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भईसकेको छ ।